देशका विभिन्न स्थानमा भएको दुर्घटनामा ६ जनाको ज्यान गएको छ । करिब १३ घण्टाको अवधिमा ५ स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार साँझ ५ देखि बिहीबार ६ बजे सम्मको अवधिमा सर्लाही, नुवाकोट, मकवानपुर र सिन्धुलीमा भएका दुर्घटनामा ६ जनाको ज्यान गएको हो ।
दुर्घटनामध्ये सर्लाही हरिपुर नगरपालिका–७ स्थित दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।
ना२५ प ६९२२ र ज५ प ७८८६ नम्बरका मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका–१५ का ३० वर्षीय अनिल चौधरी र सोही नगरपालिका–१४ का ३५ वर्षीय अशोक चौधरीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी, सर्लाही, मलंगवा नगरपालिका–९ बसपार्कमा ना २ ह १२२३ नम्बरको टेम्पु अनियन्त्रित भई दुर्घटना हुँदा टेम्पुमा सवार बरहथवा नगरपालिका–५ घर भई मलंगवा नगरपालिक–४ डेरा गरी बस्ने ३५ वर्षीय रवि मेस्तरको घटनास्थलमै मृत्यु भएको छ । टेम्पु चालक फरार रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, नुवाकोट, ककनी गाउँपालिका–४ स्थित सडकमा बा२ क ६३६३ नम्बरको टिपर सडकबाट घरको छानामा खस्दा एक महिलाको मृत्यु भएको छ ।
घरमा सुतिरहेकी ५८ वर्षीया माइली माया तामाङको ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका टिफर चालक र सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी, मकवानपुर, हेटौंडा भिमफेदी गाउँपालिका–१ स्थित सडकमा बा७ च ३८४८ नम्बरको कारले बा४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३० वर्षीय बिबेस तामाङको छाउनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी, सिन्धुली, सुनकोशी गाउँपालिका–५ भोटेखोलास्थित सडकमा प्रगतिशील माध्यामिक विद्यालय रातामाटाको ना–३ ख ३५२० नम्बरको गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्दा भोटेखोला लेखेको बोर्डमा टाउको ठोक्कीएर कक्षा ९ मा अध्यनरत रामेछाप खाडादेवी गाउँपालिका–३ बस्ने १४ वर्षीय रमिस श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



















































































































































































































