३ श्रावण २०८३, आईतवार

 

कारागारभित्रै कारोबार

नौ सय थान लागूऔषधसहित देवीकुमारी गुप्ता बुधबार पोखराको अमरसिंहचौरबाट पक्राउ परिन् । प्रहरीले सोधखोज गर्दा पत्ता लाग्यो, उनका श्रीमान् लागूऔषध मुद्दामै कास्की कारागारमा छन् । प्रहरी त्यतिखेर झन् चकित बन्यो जब कारोबार कारागारभित्रैबाट भएको पत्ता लाग्यो ।

देवीकुमारीका श्रीमान् उदयकुमार पुराना लागूऔषध कारोबारी हुन् । अपहरण मुद्दामा ७ वर्ष कैद भुक्तान गरिरहेका भारतीय नागरिक पवनकुमार सहनीसँग मिलेर उदयकुमारले कारागारबाट लागूऔषध कारोबार गरिरहेको खुलेको हो । प्रहरीसँगको बयानमा देवीकुमारीले सहनीकी श्रीमती मनीषा अर्जेलले भैरहवाबाट लागूऔषध पठाउने गरेको बताएकी छन् ।

उनका अनुसार कारागारभित्रै उदयकुमार र पवनकुमारको चिनजान भएको हो । त्यसपछि पवनकुमारकी श्रीमतीले भैरहवाबाट लागूऔषध पठाउने र उदयकुमारकी श्रीमतीले पोखरामा बिक्री गर्ने सहमति भयो । पवनकुमारले श्रीमती मनीषालाई फोन गरेर देवीकुमारीलाई लागूऔषध पठाउन भन्थे । उदयकुमारले आफ्नी श्रीमतीलाई मनीषाका नाममा रकम पठाइदिन फोनबाटै अह्राउँथे । मनीषाले ‘भरिया’ प्रयोग गरी लागूऔषध पोखरा पठाउँथिन् ।

भरियाबाट लागूऔषध बुझेर फर्कने क्रममा कास्की प्रहरीले देवीकुमारीलाई बुधबार पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट डाइजापाम ३ सय, फेनेरागन ३ सय र नर्फिन ३ सय थान बरामद गरेको छ । उक्त लागूऔषध किन्न देवीकुमारीले जेठ १७ मा ३० हजार र जेठ २६ मा ६० हजार गरी ९० हजार रुपैयाँ आईएमई रेमिटमार्फत पठाएको खुलेको छ । उनले यसअघि पनि श्रीमान्ले कारागारभित्रबाटै फोन गरेपछि मनीषालाई पैसा पठाएर लागूऔषध बुझ्ने गरेको स्विकारेकी छन् ।

उदयकुमार २०७१ मा लागूऔषध मुद्दामा दुई वर्ष कैद भुक्तान गरी निस्किएका थिए । उनी पुनः लागूऔषध कारोबारमै संलग्न भए । गत मंसिरमा उनी आफ्नी प्रेमिका मनु गुरुङसँगै ठूलो मात्रामा नर्फिन, डाइजेपाम, फेनरागनलगायत लागूऔषधसहित पक्राउ परे । कास्की प्रहरीले दुवै जनाबाट दुई निजी कार, १५ सेट मोबाइल, २ लाख ४२ हजार रुपैयाँ नगद बरामद गरेको थियो ।

अर्बौंको कारोबार

औषधिमा प्रयोग हुने नर्फिन, डाइजापाम र फेनरागन मिसाएपछि एक सेट लागूऔषध बन्छ । त्यसैलाई सुईमार्फत प्रयोग गरिन्छ । भारतबाट एक सेट खरिद गर्दा १ सय ५ रुपैयाँ पर्छ । भारतमा सहजै पाइने ती औषधि कारोबारीले नेपाल भित्र्याउँछन् । पोखराका डिलरले भारतीय सीमावर्ती सहर सुनौली, भैरहवा, वीरगन्जबाट एक सेटलाई ३ सय रुपैयाँमा खरिद गर्छन् । त्यहीं सेटलाई पोखरामा १ हजार ५ सय देखि २ हजारदेखि २५ सय रुपैयाँसम्म लागूऔषध प्रयोगकर्तालाई बिक्री गर्छन् ।

केन्द्रीय तथ्यांक विभागले २०६९ मा गरेको अध्ययनअनुसार कास्कीमा ६ हजार ९ सय १७ लागूऔषध प्रयोगकर्ता थिए । जसमध्ये ५७ प्रतिशत सुईबाट लागूऔषध प्रयोग गर्ने थिए । लागूऔषध प्रयोगकर्ताको वृद्धिदर ११.३६ प्रतिशत थियो । त्यसअनुसार हाल कास्कीमा झन्डै ११ हजार लागूऔषध प्रयोगकर्ता छन् ।

तीमध्ये ६ हजारले दैनिक एकपल्ट एकसेट मात्रै लागूऔषध १५ सय रुपैयाँमा किनेर प्रयोग गर्दा दैनिक ९० लाख रुपैयाँको कारोबार हुन्छ । त्यसो गर्दा एक वर्षमा ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको कारोबार हुन्छ । प्रहरीका अनुसार २ दिनमा एकपल्ट र एक दिनमै ५ देखि ७ पल्टसम्म सुईमार्फत लागूऔषध प्रयोग गर्नेहरू हुन्छन् ।

( आजको कान्तिपुर दैनिकबाट )

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung