१४ कार्तिक २०८३, शुक्रबार

 

बालगृहका नाममा व्यापार

- अनुगमन गर्न संसदीय समितिको निर्देशन

संसद्को महिला तथा सामाजिक समितिले देशभरका बालगृह अनुगमन गर्न महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई निर्देशन दिएको छ । निर्देशनलगत्तै मन्त्रालयअन्तर्गतको समाजकल्याण परिषद्ले उपत्यकाका बालगृहको अनुगमन सुरु गरेको छ ।

परिषद्सँगको आबद्धतामा देशभर १ सयभन्दा धेरै बालगृह सञ्चालनमा छन् । समितिले ती सबै बालगृहको सञ्चालन अवस्था, सञ्चालकको विवरण, आर्थिक स्रोतबारे विस्तृत विवरणसहित प्रतिवेदन माग गरेको छ ।

समिति सभापति निरुदेवी पालले बालगृह व्यापारका रूपमा मौलाएकाले नियन्त्रणका लागि मन्त्रालयलाई एक महिनाभित्र प्रतिवेदन समितिमा पेस गर्न आग्रह गरिएको बताइन् । ‘व्यवसायका रूपमा यो क्षेत्र मौलाएपछि समितिको ध्यान गएको हो,’ उनले भनिन् । कतिपयले कर्णालीका बालबालिकालाई काठमाडौं ल्याएर दोहोरो पैसा उठाई व्यापार गरिरहेको जानकारीमा आएकाले समितिले गम्भीरतापूर्वक लिएको उनले बताइन् ।

समितिका अनुसार कतिपय सञ्चालकले बालगृहका नाममा बालबालिका विदेशसम्म पुर्‍याउने धन्दा चलाएको जानकारीसमेत आएको छ । त्यसैले देशभरका बालगृहको अवस्था अध्ययन गर्न आवश्यक भएको सभापति पालले बताइन् । ‘कर्णालीका बालबालिकालाई काठमाडौं नै किन ल्याउनुपर्‍यो,’ उनले भनिन्, ‘बालगृह सञ्चालन गर्नेले नै कर्णाली पुगेर गरे पनि हुन्छ ।’

पालले कर्णालीका बालबालिकालाई काठमाडौं ल्याएर बालगृहका रूपमा धन्दा गर्ने आफ्नै पार्टीका कार्यकर्ता भए पनि नछाड्ने बताइन् । ‘मेरै पार्टीका हाइकमान्डले चलाएर अवैध धन्दा गरेको संस्था भए पनि छाड्दिनँ,’ उनले भनिन् । समाजसेवाका नाममा मौलाएको विकृति नियन्त्रण गर्न आफैंले नेतृत्व लिएर काम गरिरहेको उनले बताइन् । पालका अनुसार परिषद् कर्मचारीको मिलोमतोमै यस्ता गृह सञ्चालन हुँदै आएका छन् ।

कर्मचारीले नै प्रस्तावना तयार गरिदिएर विदेशी दाताबाट सहयोग कोष मिलाइदिनेसम्मका गतिविधि हुने गरेको समितिलाई जानकारी छ । ती सबैलाई निरुत्साहित गर्न समितिले काम गर्ने पालको प्रतिबद्धता छ ।

परिषद्का सूचना अधिकृत दुर्गा भट्टराईले उक्त विषयबारे अनभिज्ञता प्रकट गरे । ‘म बिदामा छु, त्यसैले अनभिज्ञ छु,’ उनले भने । परिषद् स्रोतले काठमाडौं, भक्तपुर र ललितपुरका बालगृहलाई छुट्टाछुट्टै टोली बनाई अनुगमन गरिरहेको जानकारी गरायो । भक्तपुरका ११ बालगृह आकस्मिक रूपमा अनुगमन गर्न परिषद् र समितिका प्रतिनिधि पुगेका छन् ।

सञ्चालकहरूसँग सञ्चालन अवस्थाको विवरण मागेर स्थलगत अध्ययनका आधारमा प्रतिवेदन तयार पारिने अनुगमन समितिका एक सहभागीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung