१३ कार्तिक २०८३, बिहीबार

 

पहिला को बोल्ने भन्ने विवादले संसद् स्थगित

फाइल तस्विर

पहिला को बोल्ने भन्नेमा विवाद चर्किएपछि प्रतिनिधिसभाको मंगलबारको बैठक स्थगित हुन पुगेको छ ।

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिला बोल्न समय दिएकोमा प्रमुख प्रतिपक्ष कांग्रेसले संसदीय दलका नेता शेरबहादुर देउवालाई बोल्न दिनुपर्ने अडान राखेपछि विवाद भएको हो ।

पहिला देउवालाई बोल्न दिनुपर्ने माग राख्दै कांग्रेस सांसदले रोस्ट्रम घेराउ गरेका थिए । प्रतिपक्षको मागकै कारण ढिलो गरी १२ बजे सुरु भएको बैठक त्यसपछि पनि अघि बढ्न सकेन ।

कांग्रेस सचेतक पुष्पा भुसाललगायतले सभामुख महरालाई भेटी संसदीय दलका नेता देउवालाई प्रधानमन्त्रीभन्दा पहिला बोल्न दिनुपर्ने माग गरेका थिए । आफ्ना नेतालाई बोल्न समय नदिए सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी थियो । बैठक सुरु हुनासाथ प्रधानमन्त्रीलाई बोल्न डाकिएपछि सांसदले रोस्ट्रम घेरी ‘संसदीय मर्यादा कायम गर’ भन्दै नाराबाजी गरेका थिए ।

‘प्रधानमन्त्रीका कुरा सुनौं’ भन्दै पटकपटक आग्रह गर्दा पनि कांग्रेस सांसद पछि नहटेपछि सभामुखले बैठक बुधबार बिहान ११ बजेसम्मलाई स्थगित गरेका छन् । प्रधानमन्त्रीको प्रेस सल्लाहकार कुन्दन अर्यालले कांग्रेसको यस्तो अभ्यासले जनताको सुसूचित हुन पाउने अधिकार कुण्ठित भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung