१४ कार्तिक २०८३, शुक्रबार

 

सवारी दुर्घटनामा १४ जनाको मृत्यु

बझाङ, कैलाली, झापा, महोत्तरी र नवलपरासी (पूर्व) का विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

बझाङको मष्टा गाउँपालिका–१ डौठीस्थित सडकमा से. १ ज १०७२ नम्बरको जिप सोमबार दिउँसो दुर्घटना भएको छ । दुर्घटनामा सोही ठाउँ बस्ने २२ वर्षीय सुरेन्द्र थापासहित १० जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ३ जनाको नर्सिङ होम नेपालगंजमा र अन्य २ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, कैलाली, घोंडाघोंडी नगरपालिका–१० मा से.३ प ६३३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो सडक छेउँमा रहेको बिजुलीको खम्बामा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक सोही नगरपालिका–८ दिपनगर बस्ने २१ वर्षीय दिनेश टमटाको उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गौरीगंगा नगरपालिका–११ बस्ने ४० वर्षीय कर्ण कामीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यता, झापाको गौरादह नगरपालिका–७ स्थित भेटवालचोकमा मे.१ ख २७०४ नम्बरको टिपरले सोमबार पैदलयात्रीलाई ठक्कर दिँदा सुनसरी तरहरा घर भएका १० वर्षीय ओमराज गिरीको घट्नास्थलमै मृत्यु भएको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, महोत्तरीको औरही नगरपालिका–१ जंघाखोला पुलस्थित सडकमा ज.१ त ४२७९ नम्बरको ट्याक्टर र अनटेस्ट लेखिएको मोटरसाइकल सोमबार साँझ एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गौशाला नगरपालिका–३ नवराजपुर बस्ने १८ वर्षीय मनोज यादवको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरेहको छ ।

नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका–१० सिस्नेस्थित सडकमा लु१ ख ८३२६ नम्बरको बस र ना३ प ८७६३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५२ वर्षीय वीरेन्द्र नन्द सन्यासीको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गैंडाकोट नगरपालिका–३ बुलिङटार बस्ने ३७ वर्षीय बिष्णु निर्मल गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।– स्राेत नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung