१८ बैशाख २०८१, मंगलवार

 

पूरै कक्षामा जम्मा तीन विद्यार्थी

जिल्लाका केही सामुदायिक विद्यालयमा विद्यार्थी चाप बढ्दै जाँदा यहाँको एक विद्यालयमा भने झन्झन् घट्दो छ । जैमिनी नगरपालिका–७ जैदी बोरस्थित भगवती प्राविको पाँच कक्षामा जम्मा तीन विद्यार्थी छन् । २ छात्रा र १ छात्र ।

बालविकासदेखि कक्षा ५ सम्म पढाइ हुने यहाँ कुल विद्यार्थीसंख्या नै ३५ जना मात्र छ । बालविकास र कक्षा १ मा विद्यार्थी अनुपात ठिकै देखिए पनि २ देखि ५ सम्म न्यून छ । यस वर्ष नयाँ विद्यार्थी भर्ना भएका छैनन् । अघिल्लो वर्ष ४२ जना रहेकोमा सात जना आधारभूत तहको पढाइमा गएको प्रधानाध्यापक कृष्णराज उपाध्यायले बताए ।

बसाइँसराइको प्रभाव

भौगोलिक विकटता र बसाइँसराइका कारणले पनि यस क्षेत्रका विद्यालयमा विद्यार्थी टिकाउन कठिन भएको उपाध्यायको भनाइ छ । ‘विशेष गरी अभिभावक सुविधा खोज्न सहरकेन्द्रित हुन्छन्,’ उनले भने, ‘उनीहरूलाई गाउँप्रति चासो र चिन्ता नभएका कारण विद्यार्थी टिकाउन सकिएको छैन ।’ बालविकासमा ल्याएर केही समय पढाएपछि अभिभावकले निजीतिर लैजाने गरेका छन् ।

यहाँ विद्यार्थी टिकाउन पूर्वविद्यार्थी हरिहर शर्मा, विजय रानालगायतले शैक्षिक सामग्री वितरण र कम्प्युटर हस्तान्तरणसमेत गरे । तर पनि समस्या जस्ताको त्यस्तै छ ।

विद्यालयमा अहिले ३ शिक्षकको दरबन्दी छ । ‘निजी स्रोतबाट पनि एक शिक्षक राखेका छौं,’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष नैनसिंह रानाले भने, ‘जति आकर्षण बढाए पनि अभिभावकले चासो नदेखाए विद्यार्थी टिकाउन गाह्रो हुँदो रहेछ ।’ आगामी वर्षदेखि दिवाखाजा, छात्रवृत्ति वितरणसाथै थप कार्यक्रम ल्याइने उनले बताए ।

भौगोलिक हिसाबले विकट, साना नानीलाई लामो दुरी पैदल पठाउन मुस्किल भएकाले उक्त विद्यालयमा विद्यार्थी चाप घटिरहेको पूर्वविद्यार्थी शर्माको बुझाइ छ । ‘विद्यालयको शैक्षिक उन्नयन र विद्यार्थी टिकाउन विभिन्न अभियान सञ्चालन गरेका छौं,’ उनले भने, ‘यसका लागि अभिभावकको साथ चाहिन्छ ।’

ऐन नबन्दा अन्योल

सामुदायिकमा विद्यार्थी घट्दै जाँदा स्थानीय सरकारले अहिलेसम्म कुनै कदम चालेको छैन । नगरपालिकामा नगर शिक्षासम्म गठन भएको छैन । यसले गर्दा विद्यालयलाई मर्ज गर्ने कि स्थानान्तरण भन्ने अन्योल छ ।

नगरशिक्षाप्रमुख खेम आचार्यले भने, ‘हामीले अहिले केही गर्न सक्दैनौं, नगरपालिकाबाट शिक्षा ऐन नआएसम्म विद्यालय जुन अवस्थामा छ सोही अवस्थामा चल्नेछ ।’ सरकारले विद्यार्थी नभएका विद्यालय मर्ज र स्थानान्तरण गर्ने भने पनि जैमिनी नगरपालिकाका विद्यालय भौगोलिक अवस्थाका कारण मर्ज गर्न नसकिने उनले बताए । विद्यालयमा विद्यार्थी र अभिभावकको मन जित्न गुणस्तरीय शिक्षा आवश्यक रहेको आचार्यको भनाइ छ ।

नगरक्षेत्रका सबै विद्यालयको शिक्षामा गुणस्तर ल्याउन पठनपाठन र प्रशासनमा सुधार जरुरी रहेको नगरपालिकाले जनाएको छ । जैमिनी नगरपालिकाभित्र ८० वटा सामुदायिक विद्यालय छन् ।

 

प्रतिक्रिया दिनुहोस्