१८ बैशाख २०८१, मंगलवार

 

विद्यालय पुनर्निर्माण २० गतेभित्र सक्न निर्देशन

पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ बागलुङले भूकम्पबाट प्रभावित विद्यालय भवन निर्माण असार २० भित्र सम्पन्न गर्न निर्देशन दिएको छ ।

भूकम्प प्रभावित ४० विद्यालयका शिक्षक एवं व्यवस्थापन समितिसँग अन्तरक्रियामाइ इकाइले तत्काल काम नसके दोस्रो किस्ताको बजेट निकासा गर्न मुस्किल हुने जनायो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले समयमै काम सकेर एकाइप्रति विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भवन निर्माणको काम पारदर्शी र छिटोछरितो बनाउन विद्यालयलाई आग्रहसमेत गरे ।
प्रभावित विद्यालयमध्ये १८ वटा दुईकोठे, पाँचवटा तीनकोठे, १७ वटा चारकोठे आरसिसी भवन निर्माण भइरहेको एकाइका इन्जिनियर नवीनकुमार सिंहले जानकारी दिए ।

सबै विद्यालयले पहिलो किस्ताको रकम बुझिसकेको आयोजनाले जनाएको छ । यसअन्तर्गत ४ कोठे भवनका लागि १७ लाख ४२ हजार, ३ कोठेका लागि ८ लाख ८६ हजार र २ कोठे ट्रसका लागि ५ लाख ९१ हजार रुपयाँको दरले रकम वितरण गरिएको छ ।

इकाइले २०७६ असार १६ सम्म सक्ने गरी सम्बन्धित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षसँग २०७५ असार २३ गते सम्झौता गरेको थियो । ‘सम्झौताअनुरूप तोकिएको समयमा काम नसके केन्द्रीय आयोजनाले बाँकी भुक्तानी रोक्ने सम्भावना हुन्छ,’ प्रमुख इन्जिनियर सिंहले भने ।

कार्यक्रमबारे जिल्ला आयोजना कार्यान्वयन इकाइका लेखा अधिकृत मार्कण्यप्रसाद बरालले जानकारी गराएका थिए । कार्यक्रम इकाइ प्रमुख रेणुकाकुमारी पाण्डेको अध्यक्षता र नायब सुब्बा चुर्णबहादुर कार्कीको सञ्चालनमा भएको थियो

प्रतिक्रिया दिनुहोस्