१८ बैशाख २०८१, मंगलवार

 

अपांगता भएकालाई शिक्षाको पहुँचमा ल्याउन जोड

अपांगता भएका बालबालिकाले पढ्ने विद्यालयमा भौतिक सुधार, जनशक्ति व्यवस्थापन र स्रोतशिक्षकहरूलाई दक्ष बनाउनुपर्ने चुनौती सरोकारवालाले औंल्याएका छन् ।

राष्ट्रिय अपांग महासंघले आयोजना गरेको समावेशी शिक्षासम्बन्धी एकदिने अभिमुखीकरणका अवसरमा उनीहरूले स्रोतशिक्षकको क्षमता विकास र स्रोतकक्षा चलेका विद्यालयसमेत अपांगमैत्री बनाउनुपर्ने सुझाए । बागलुङ, म्याग्दी र पर्वतमा सञ्चालित स्रोतकक्षा तथा विशेष विद्यालयका प्रअ, व्यवस्थापन समितिका पदाधिकारी र स्रोतशिक्षकलाई अभिमुखीकरण गराइएको हो । सहभागीले ग्रामीण बस्तीसम्म रहेका अपांगता भएका बालबालिकाले शिक्षाको अवसरबाट वञ्चित हुन नपर्ने वातावरण तयार पार्न सबैको सहकार्य आवश्यक भएकोमा जोड दिए ।

उक्त अवसरमा महासंघका गण्डकी प्रदेश अध्यक्ष ओमराज शर्माले हरेक स्रोतकक्षालाई स्रोतसाधनसम्पन्न बनाउनुपर्ने, शिक्षणविधिबारे शिक्षकहरूलाई समयसमयमा अभिमुखीकरण गर्नुपर्ने धारणा राखे । सूचना र शिक्षाको पहुँचमा लगेर अपांगता भएका व्यक्तिलाई साधारण मानिसजस्तै बनाउने दायित्व मनन गर्न राज्यका हरेक तहमा दबाब दिनुपर्ने उनले बताए ।

कार्यक्रममा बागलुङ बहिरा संघका अध्यक्ष सन्तोष पौडेलले अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको भन्दै समावेशी शिक्षा र सकारात्मक धारणा विकास गराउन पहल गर्नुपर्नेमा जोड दिए । केही वर्षअघिसम्म तत्कालीन महिला तथा बालबालिका कार्यालयबाट वितरण हुँदै आएको अपांगता परिचयपत्र फेरि स्थानीय तहबाट बाँड्न थालिएको बारे कार्यक्रममा छलफल भएको थियो । यसअघिको परिचयपत्रकै आधारमा फेरि वितरण गर्दा हुनेमा फेरि सबै प्रक्रिया पूरा गर्न लगाउँदा अपांगता भएका व्यक्तिले पटकपटक सास्ती खेपेको सहभागीको भनाइ थियो ।

बागलुङको नारायणस्थानस्थित जनताधन माविमा दृष्टिविहीन, रामरेखा आधारभूत विद्यालयमा शारीरिक अपांगता भएकाहरू, बांगेचउरस्थित धौलागिरि बहिरा आवासीय माविमा बहिराका लागि र उपल्लाचौरस्थित बागलुङ विशेष विद्यालयमा सुस्त मनस्थिति भएकाहरूलाई पढाइन्छ । पर्वत र म्याग्दीका अपांगता भएका बालबालिका पढाउने स्रोतकक्षा र विशेष विद्यालयका पदाधिकारी र शिक्षक पनि अभिमुखीकरणमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्