१ जेष्ठ २०८२, बिहीबार

 

सत्य र आख्यानको लडाइँ

बहस

अधिकांश मानिस सत्यमा शक्ति हुन्छ भन्ने विश्वास गर्छन् । त्यो विश्वासअनुरूप कुनै नेता, धर्म अथवा विचारधाराले यथार्थलाई गलत रूपले प्रतिनिधित्व गरे भने ती एक दिन सत्यवादी प्रतिद्वन्द्वीसँग पराजित हुन्छन् । त्यसैले जित हासिल गर्ने सबैभन्दा उत्कृष्ट रणनीति भनेको सत्यप्रति अडिग रहनु नै हो । तर, दुर्भाग्यवश यो विश्वास सुविधाजनक मिथक मात्र हो । वास्तवमा सत्य र शक्तिबीच निकै जेलिएको सम्बन्ध हुन्छ । किनकि मानव समाजमा शक्तिले दुई एकदमै फरक तत्वलाई जनाउँछ ।

एकातर्फ शक्तिमा भौतिक यथार्थमै फेरबदल ल्याउन सक्ने सामथ्र्य हुन्छ । त्यसैको प्रयोग गरेर हामीले जीवजन्तुलाई सिकार गर्ने, पुलपुलेसा निर्माण गर्ने, रोगव्याधी निवारण गर्ने, आणविक बम निर्माण गर्नेलगायत काम गरिरहेका छौँ । यस्ता शक्ति सत्यसँग घनिष्ट रूपमा गाँसिएका हुन्छन् । तपाईंले गलत भौतिक सिद्धान्तमाथि विश्वास गरेर आणविक बम निर्माण गर्न खोज्नुभयो भने तपाईं असफल हुनुहुनेछ ।

अर्कातर्फ शक्ति भनेको मानवीय विश्वासलाई प्रभावित पार्न सक्ने क्षमता पनि हो । त्यसको प्रयोगमार्फत ठूलो संख्याका मानिसलाई प्रभावकारी रूपमा सहकार्य गराउन सकिन्छ । आणविक बम निर्माण गर्न भौतिकशास्त्रको राम्रो बुझाइले मात्र पुग्दैन, लाखौँ मानिसको समन्वयपूर्ण श्रमको आवश्यकता हुन्छ ।

पृथ्वीमा चिम्पान्जी वा हात्तीको नभएर किन मानिसको आधिपत्य कायम भयो ? यसपछाडि ठूलो संख्यामा मानिसको सहकार्य गर्न सक्ने क्षमताले भूमिका खेलेको छ । ठूलो स्तरको सहकार्य तब मात्र सम्भव हुन्छ, जब ती समूहलाई साझा कथामा विश्वास दिलाउन सकिन्छ । यो कथा सत्य नै हुनुपर्छ भन्ने पनि हुँदैन । जस्तो करोडौँ मानिस हजारौँ वर्षदेखि ‘भगवान्’ भनेर पूर्ण रूपमा काल्पनिक कथ्यमा विश्वास
गर्दै आएका छन् । जाति र अर्थतन्त्र पनि यस्तै काल्पनिक विश्वासमा आधारित हुन्छन् ।

शक्ति र सत्यको द्वेध चरित्रले एउटा रमाइलो अवस्था सिर्जना गरेको छ । हामी मानिस पृथ्वीका बाँकी कुनै पनि जीवभन्दा धेरै सत्य जान्दछौँ, तर हामी उत्तिकै संख्याका बकवास विश्वास बोकर हिँडिरहेका छौँ । हामी यस ग्रहमा बसोवास गर्ने सबैभन्दा बुद्धिमान् र साथसाथै सजिलै मूर्ख बनाउन सकिने जीव हौँ ।

खरायोलाई आइन्स्टाइनको चर्चित सूत्र ‘ई बराबर एमसी स्क्वायर’बारे थाहा छैन । न त खरायोलाई हाम्रो ब्रह्माण्ड १३.८ अर्ब वर्षपहिले निर्माण भएको र डिएनए साइटोसिन, गुनाइन, एडेनाइन र थाइमाइनजस्ता तत्वले बनेको छ भन्ने ज्ञान छ । तर, खरायोले हजारौँ वर्षदेखि अनगिन्ती मानिसलाई मोहित बनाइरहेको मिथकीय कल्पनामा पनि विश्वास गर्दैन । कुनै पनि खरायो मृत्युपछि ७२ कुमारी वर पाउने आशामा विश्व व्यापार केन्द्रमा हवाईजहाज ठोकाउन तयार पनि हुँदैन ।

मानिसलाई एउटा साझा कथावरिपरि गोलबन्द गर्ने मामिलामा आख्यान निकै शक्तिशाली औजार हो । यसका पछाडि आख्यानमा सत्यसँग भन्दा तीनवटा बढी लाभ प्राप्त छ । आख्यानलाई प्राप्त पहिलो लाभ के हो भने सत्य विश्वव्यापी हुन्छ, तर आख्यान स्थानीय चरित्रको हुन्छ । परिणामस्वरूप हामीले आफ्नो समुदायलाई विदेशीबाट फरक देखाउन चाह्यौँ भने आख्यानले यथार्थपूर्ण तथ्यभन्दा प्रभावकारी काम गर्छ । जस्तो हामीले आफ्ना समुदायका सदस्यलाई ‘सूर्य पूर्वबाट उदाउँछ र पश्चिममा अस्ताउँछ’ भन्ने कुरामा विश्वास गरायौँ भने त्यो समुदायको एउटा मिथक बन्छ ।

यस्तो विश्वास बोकेको मानिसले जंगलमा भेटिएको अर्को कुनै व्यक्तिबाट सूर्य पूर्वबाट उदाउँछ भन्यो भने उसमा त्यो जंगलमा भेटिएको व्यक्ति आफ्नो समुदायको हो भन्ने संकेत दिन्छ । तर, त्यति नै मात्रामा त्यो व्यक्ति अर्को समुदायमा हुर्किएको र त्यस समुदायले स्वतन्त्र रूपमा सोही निष्कर्ष निकालेको हुन सक्ने सम्भावनालाई पनि स्विकार्ने सम्भावना हुन्छ ।

तर, अब तपाईंले आफ्ना समुदायका सदस्यलाई ‘सूर्य भीमकाय भ्यागुताको आँखा हो, प्रत्येक दिन सो भ्यागुतो आकाशमा झुल्किन्छ’ भनेर बताउनुभयो भने तपार्इंको सूर्यलाई लिएर अलग पहिचान बन्छ । थोरै मात्र बाह्य समुदायले उस्तै कथ्य सिर्जना गर्न सक्ने भएकाले आख्यानले अलग पहिचानलाई सघाउँछ ।

सत्यभन्दा आख्यान शक्तिशाली हुने दोस्रो कारण एउटा कमजोर सिद्धान्तमा आधारित छ, जसले के भन्छ भने विश्वनीय संकेतको अभिव्यक्ति संकेतकर्तालाई महँगो पर्छ  । अर्थात् यथार्थ बोल्नेलाई अरूले सजिलैसँग ढाँट्न सक्छन् । यदि कार्यकर्ताको राजनीतिक निष्ठा नेताले बोल्ने सत्य कथनप्रतिको तिनको निष्ठाले संकेत हुन्छ भने त्यस अवस्थामा अवसरवादीले सजिलै ढोँग गरेर ढाँट्न सक्छ । तर, त्यसविपरीत बेतुक र विचित्रका कथा राजनीतिक निष्ठा जाँच्न राम्रो औजार बन्छ ।

तपाईं आफ्ना नेताले बोलेको सत्य कुरामा मात्र विश्वास गर्नुहुन्छ भन्ने त्यसले के प्रमाणित गर्छ ? त्यसको उल्टो तपाईंले आफ्नो नेताले हावामा बनाएको महलप्रति पनि आँखा चिम्लेर विश्वास व्यक्त गर्नुभयो भने पो तपाईंको नेताप्रतिको साँचो निष्ठा झल्किन्छ । चलाख नेताले कहिलेकाहीँ जानीबुझीकन अर्थहीन कुरा गरेर विश्वस्त भक्त र अवसरवादी समर्थकलाई परख्न खोज्छन् ।

आख्यानको तेस्रो र सबैभन्दा महत्वपूर्ण सबलता प्रतिद्वन्दी सत्यसँग जोडिएको छ । त्यस्तो सत्य धेरै अवस्थामा पीडादायी र तितो हुन्छ । तपाईं खोटरहित सत्यमा मात्र अडिग रहनुभयो भने थोरै मानिसले मात्र तपाईंलाई पछ्याउनेछन् । अमेरिकी इतिहास जे सत्य हो त्यही मात्र बताउने अमेरिकी राष्ट्रपति उम्मेदवारले निर्वाचन हार्ने शतप्रतिशत ग्यारेन्टी हुन्छ । यही कुरा सबै देशको हकमा लागू हुन्छ । सत्यप्रति सम्झौताहीन अडान सफल राजनीतिक रणनीति होइन ।

केही मानिस, काल्पनिक कथाले छोटो समयका लागि सामाजिक एकतामा पु-याउने योगदानभन्दा तिनले दीर्घकालमा समाजलाई पु-याउने नोक्सानी बढी हुने गर्क गर्छन् । तर, एकपटक बेतुकका आख्यान र आरामदायी झुटमा विश्वास गर्ने बानी परिसकेपछि, त्यो बानी अरू क्षेत्रमा पनि विस्तार हुँदै जान्छन् । त्यसपछि त्यसले खराब आर्थिक निर्णयदेखि प्रत्युत्पादक सैन्य रणनीतिसम्मलाई प्रभावित गर्न थाल्छ । यी कुराले प्रभावकारी प्रविधिको विकासमा अवरोध सिर्जना गर्छ ।

वैज्ञानिक क्रान्ति विश्वको सबैभन्दा कट्टर संस्कृतिमा सुरु भएको थियो । कोलम्बस, कोपर्निकस र न्युटन बाँचेको वेलाको युरोप इतिहासकै सबैभन्दा असहिष्णु थियो । त्यही कारणले त्यो समयको युरोप धार्मिक रूपमा इतिहासमै सबैभन्दा न्यून सहिष्णु थियो ।

वैज्ञानिक क्रान्तिका दिग्गज त्यस्तो समाजमा बाँच्थे, जहाँ मुसलमान र यहुदी भएकै आधारमा देशनिकाला हुन्थ्यो भने धर्मको आलोचना गर्नेलाई सार्वजनिक रूपमा जलाइन्थ्यो । त्यो वेलाको युरोपेली समाजमा बिरालो पाल्ने हरेक बुढी महिला बोक्सीका रूपमा चित्रित हुन्थे । यही उग्रताले गर्दा प्रत्येक पूर्णिमाजस्तोमा एउटा नयाँ धार्मिक युद्ध सुरु हुन्थ्यो ।

हामी मानिस पृथ्वीका बाँकी कुनै पनि जीवभन्दा धेरै सत्य जान्छौँ, तर हामी उत्तिकै संख्याका बकवास विश्वास बोकर हिँडिरहेका छौँ । हामी यस ग्रहमा बसोवास गर्ने सबैभन्दा बुद्धिमान् र साथसाथै सजिलै मूर्ख बनाउन सकिने जीव हौँ ।

तपाई चार सय वर्षअघिको कायरो वा इस्तानबुलको भ्रमण गर्नुहुन्थ्यो भने तपाईंले सुन्नी, सिया, अर्थोडक्स इसाई, क्याथोलिक इसाई, यहुदी, आर्मेनियाली र थोरै संख्यामा हिन्दू सहिष्णुतासाथ बसेको बहुसांस्कृतिक समाज पाउनुहुन्थ्यो ।

तिनले समय–समयमा असहमति र लुटपाट नभोग्ने होइनन् । त्यस अतिरिक्त मुसलमान धर्म मान्ने अटोमन सम्राटले धार्मिक आधारमा जनतामाथि विभेद पनि गर्थे । तर, त्यसका बाबजुद त्यो समाज तत्कालीन पश्चिमी युरोपको तुलनामा उदारताको स्वर्ग थियो । किनकि, त्यसवेला लन्डन र पेरिसमा बहुसंख्यक सम्प्रदाय मात्र बस्न सक्ने अत्यन्त असहिष्णु वातावरण थियो ।

लन्डनमा इसाईभित्रकै क्याथोलिक बहुसंख्यक प्रोटेस्टेन्टबाट मारिन्थे । पेरिसमा क्याथोलिकको बाहुल्य थियो, त्यसैले प्रोटेस्टेन्ट मारिन्थे । यहुदी धेरैअघि नै यी सहरबाट धपाइसकिएका थिए । मुसलमानलाई प्रवेश दिने त कसैले सोच्न पनि सक्दैनथ्यो । तर, यति धेरै असहिष्णुताका बाबजुद वैज्ञानिक क्रान्ति कायरो वा इस्तानबुलमा सुरु नभएर लन्डन र पेरिसमै भयो । यसबाट मानिसको दिमागले कट्टरता र तर्कलाई एकैसाथ छुट्याएर राख्न सक्ने क्षमताको भूमिका देखिन्छ ।

दिमागका अलग भागले फरक ढंगमा सोच्ने गर्छ । मानिसले आलोचनात्मक सोचका लागि महत्वपूर्ण हुने दिमागको क्षेत्रलाई अवचेतन रूपमा बन्द गर्न वा पुनः सक्रिय बनाउन सकिन्छ । यसैले नाजी शासनमा यहुदी नरसंहारको नेतृत्व गरेका एडोल्फ आइकमनले हिटलरका जोसिला भाषण सुनिरहँदा उनको ‘प्रिफन्टल कोर्टेक्स’लाई बन्द गरेको हुनुपर्छ, जसलाई उनले ‘ओसबिचको कन्सन्ट्रेसन क्याम्प’का लागि छुट्ने रेलको समयतालिकाबारे सोच्ने वेला पुनः सक्रिय गराएको हुनुपर्छ ।

हाम्रो तार्किक स्वभावलाई निष्क्रिय पार्दा हामीले केही मूल्य चुकाउनुपरे पनि त्यसबाट वृद्धि हुने सामाजिक एकता यति बलियो हुन्छ, त्यसकै कारणले मानव इतिहासमा काल्पनिक कथाले नियमित रूपमा सत्यमाथि विजय हासिल गर्छ । प्राज्ञ वर्गमा हजारौँ वर्षदेखि यो तथ्यको थाहा रहँदै आएको छ ।

त्यसैले पटक–पटक ती आफूले सत्यको सेवा गरिरहेको हो कि सामाजिक सद्भावको भन्ने कुराको निक्र्योल गर्न तर्क–वितर्क गर्छन् । त्यस बहसमा प्राज्ञले सम्पूर्ण समाजको एकता बढाउने समान आख्यानलाई प्रश्रय दिनुपर्छ कि विखण्डनको मूल्यमा तिनले मानिसलाई सत्य बताइदिनुपर्छ भन्ने प्रमुख छ । सुकरातले सत्य रोजे र त्यसै कारणले मारिए । क्रिस्चियन पुजारी, कन्फ्युसियन प्रशासक वा कम्युनिस्ट विचारक इतिहासका सबैभन्दा शक्तिशाली प्राज्ञिक संस्थापनमध्ये गनिन्छन् । यी सबैले एकतालाई सत्यभन्दा माथि राखे । त्यही कारणले ती त्यति शक्तिशाली थिए ।
द न्युयोर्क टाइम्सबाट

(इजरायली इतिहासकार हरारी ‘सेपियन : अ ब्रिफ हिस्ट्री अफ ह्युम्यानिटी’ नामक बेस्टसेलर पुस्तकका लेखक हुन्) 

नया पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung