८ जेष्ठ २०८१, मंगलवार

 

अन्तिम खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई २३ रनले हरायो

विश्वकपबाट बाहिरिने निश्चित भइसकेको खेलमा बिहीबार वेस्ट इन्डिजले अफगानिस्तानलाई २३ रनले हराएको छ ।

अन्तिम म्याचमा अनुभवी टोली वेस्ट इन्डिजलाई बलियो चुनौती दिए पनि नयाँ टोली अफगानिस्तानले आफ्नो अपराजित यात्रामा पूर्णविराम लगाउन सकेन ।
लन्डनको लिड्स मैदानमा ३१२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा २८८ रन मात्र बनाउन सक्यो ।

जारी आइसिसी विश्वकपमा यो दुवै टोलीको अन्तिम म्याच थियो । दुवै सेमिफाइनल दौडबाट बाहिरिइसकेका छन् ।

यसअघि पनि अफगानिस्तान अन्तिममा ओभरमा आएर पाकिस्तानसँग पराजित भएको थियो भने भारतले जम्मा ११ रनले हराएको थियो ।

बिहीबार रातिका म्याचमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । इएविन लुइसले ५८, साई होपले ७७ र निकोलस पूरनले ५८ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तान ५०आंै ओभरको अन्तिम बलमा १०औं विकेट गुमाउँदै २८८ रनमा समेटियो । टोलीका लागि इकराम अली खिलले सबैभन्दा बढी ९३ बलमा ८६ रन बनाए । अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । वेस्ट इन्डिजका तर्फबाट ब्रेथवेटले सबैभन्दा बढी चार र रोचले तीन विकेट लिए ।

जारी विश्वकपमा यो वेस्ट इन्डिजको दोस्रो जित हो । अफगानिस्तानले एउटै म्याच जित्न सकेन ।
वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेलको पनि विश्वकपमा यो अन्तिम म्याच हो । ३९ वर्षीय उनले विश्वकपपछि भारतविरुद्ध हुने सिरिज खेलेर संन्यास लिने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्