इलामको सन्दकपुर गाउँपालिका–३ र ५ जोड्ने निर्माणाधी पक्की पुल वर्षासँगै आएको बाढीले बगाएको छ । तीन करोड १७ लाख रुपैयाँमा निर्माण भइरहेको पुलले सोमबार आएको बाढीले बगाएको हो ।
भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा शंकर त्रिशक्ति कन्स्ट्रक्सनले पुल निर्माणको ठेक्का लिएको थियो ।
बाढीले पुलको होमपाइपहरु, रड, फर्माहरु बगाएको छ भने पिलर ढालेको छ । ठेकेदार कम्पनीका अनुसार पुल पूर्णरुपले क्षति भएको छ ।
ठेकेदार सुवास चिपालुका अनुसार निर्माणाधीन पुलले एक महिनाअघि पनि माइखोलाको बहाव थेग्न नसकेर भत्केको थियो । उनका अनुसार ढलान मात्र गर्न बाँकी राखेर काम सकिएको थियो । सन्दकपुर गाउँपालिका ५ का वडाध्यक्ष जीतबहादुर साँवाले ढलान गर्न तयारी भइरहेको पूल बगाउदा सुलुबुङ र जमुना गाविस जोड्ने माइखोलामा पक्की पुल नहुँदा बर्खायाममा स्थानीयलाई सास्ती हुने बताए ।
काठेपुलको सहायताले गाडी आउजाउ गरे पनि बाढीले बगाइरहने हुनाले स्थानीय समस्यामा छन् ।



















































































































































































































