१४ कार्तिक २०८३, शुक्रबार

 

भोजपुर घटना : यसरी भएको थियो गोली हानाहान

भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव) समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार बिहान सदरमुकामको हटिया लाइनमा गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इन्चार्ज निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । गोली लाग्नासाथ अस्पताल लगिएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा प्रहरी जवान खोमनाथ भट्टराई घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ परेको प्रहरीले जनाएको छ ।

यसरी भयो घटना

बुधबार बिहान विप्लवका कार्यकर्ता गाउँ पसेको थाहा पाएपछि प्रहरीले सादा पोसाकमा टोली परिचालन गरेको थियो । विप्लवका कार्यकर्ताले प्रहरी हो भनी एकिन भइसकेपछि गोली प्रहार गर्दा प्रहरी जवान सञ्जीव राई गम्भीर घाइते भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

उनका अनुसार विप्लव कार्यकर्ताले प्रहरीमाथि फायरिङ खोलेलगत्तै जवाफी कारवाहीमा प्रहरीले गोली चलाउँदा विप्लवका कार्यकर्ता निरकुमार राई पनि गम्भीर घाइते भए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung