खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु हमाल शाहीको शव २२ दिनपछि भेटिएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ बेडुबिसौनास्थित कर्णाली नदीमा बेपत्ता भएकी उपाध्यक्षको शव कर्णाली नदीको किनारमा बुधबार भेटिएको हो ।
नदीमा स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालका अनुसार श्रीमानले औँठीका आधारमा पहिचान गरेका हुन् ।
आफन्तले उपाध्यक्ष शाहीको शवलाई गाडेका छन् । हिन्दु परम्परा अनुसार घर परिवारले कुशको शव बनाएर अन्तिम संस्कार असार ६ गते नै गरिसकेका थिए ।
असार ३ गते खार्पुनाथ गाउँपालिकाको बेडु बिसौनीबाट जीप कर्णाली नदीमा खस्दा उपाध्यक्ष शाहीसहित ११ जना बेपत्ता भएका थिए । घटना भएको २२ दिन पछि उपाध्यक्षको शव भेटिएको हो । अन्य दश जना अझै बेपत्ता छन् ।



















































































































































































































