आमा खोइ ? – मरिन् ।
बा खोइ ? – थाहा छैन ।
यति भनेर ६ वर्षीय किस्मत परियार बगैँचातिर दौडे । फेरि नजिक आए । एक छिन लुटपुटिए । क्यामेरामा कैद आफ्नै तस्बिर हेरे, मुस्कुराए । किस्मत हँसिला, फुर्तिला छन् । चाल र हाउभाउ हेर्दा दुनियाँकै खुसी बच्चाझैँ लाग्छन् तर ‘अभागी’ छन् । कलिलैमा दुःखको घेराभित्र छन् उनी ।
किस्मतको घर छैन न त ठेगान छैन । आमा परलोक, बा सडकपेटीमा । आमाको काख गुमेको तीन महिना भयो । बाको साथ छोडेको तीन साता पुग्यो । किस्मत अहिले मानवसेवा आश्रमको शरणमा छन् ।
आश्रमको बागलुङ शाखा परिसरमा किस्मत यताउता दगुर्दै थिए । साथीसँग खेल्दै थिए । अकस्मात् बुबा रमेश आश्रममा आएको देखे । बा भन्दै नजिक पुगे । काखमा बसे । ३३ वर्षीय रमेशले छोराको गालामा चुम्बन गरे ।
एक छिन छोरासँग बसेर रमेश आश्रमबाट बाहिरिए । हात हल्लाउँदै किस्मतले ‘भोलि पनि आउनू है’ भने । आश्रम आउनुअघि उनी बाबासँगै सडकपेटीमा सुत्थे । न खाने न लाउनेको टुङ्गो । बाबा जता उतै पछि लाग्थे किस्मत ।
मजदुरी गरेर खाने रमेशको अस्वाभाविक बानी, व्यवहार र अस्तव्यस्त दैनिकीले कलिला किस्मतलाई असर पुर्यायो । आमा बितेपछि उनी सहाराविहीनझैँ थिए । बाबासँगै बस्दा झन् बर्बाद हुने देखेर उनलाई आश्रममा ल्याइयो । स्थानीय बासिन्दा र सामाजिक अभियन्ताको सहयोगमा उनी आश्रमसम्म आइपुगे । अहिले विद्यालय जान्छन् । आश्रमको पारिवारिक वातावरणमा हुर्किरहेका छन् । आश्रममा खाना, आवासलगायत आधारभूत सेवाको कुनै कमी छैन ।
आश्रमले किस्मतलाई सदरमुकामस्थित सिद्धार्थ शिक्षा सदनमा भर्ना गरिदिएको छ । ‘वर्षभरिको अग्रिम शुल्क तिरेर उनलाई भर्ना गरेका छौँ’, आश्रमकी संयोजक सुमीरा लामाले भनिन्, ‘किस्मतले पहिलोपटक कलम समातेका छन् ।’
पढाइमा बानी पार्न सुरुका दिनमा कठिनाइ भइरहेको उनको भनाइ छ । अशिष्ट शब्द बोल्ने, अटेरी गर्ने र केटाकेटीसँग झगडा गर्ने स्वभाव छ किस्मतको । कहिल्यै ज्ञान र शिक्षाको वातावरण नपाएका उनी त्यही रूपमा हुर्कंदै आएका थिए ।
‘दिसा पनि हामीले नै गराइदिनुपर्छ’, संयोजक लामाले भनिन्, ‘पहिले बानी, व्यवहार सुधार्न कोसिस गरिरहेका छौँ ।’ पढाइ र अनुशासनमा कडाइ हुने भएकाले उनलाई केही समय निजी विद्यालयमा भर्ना गरिएको छ । किस्मतजस्तै छ जना बालबालिका आश्रमबाटै विद्यालय जान्छन् । अन्य दुई बालबालिकालाई सिद्धार्थ शिक्षा सदन र तीन जनालाई गरिमा माविले निःशुल्क पढाउने जिम्मा लिएको छ । किस्मतलाई पनि निःशुल्क पढाउने सहयोगीको खोजी भइरहेको छ ।
‘दिनभरि काममा जानुपर्छ, छोरालाई सँगै राख्न सक्दिनँ’, रमेशले भने, ‘छोराको भविष्य मेरोजस्तो नहोस् भनेर यहाँ ल्याएको हो ।’ ठूलो भएपछि छोरालाई आश्रमबाट लैजाने सोच छ रमेशको । छोराले भारी बोकेर खान नपरोस् भन्ने चाहन्छन् उनी । रमेश र उनका साथीहरू बागलुङ बजारमा श्रमिकको काम गर्छन् । ट्रक, ट्र्याक्टरबाट सामान ‘लोड–अनलोड’ गर्ने मुख्य काम हो । दिनभर काम गरेपछि साँझ मदिरा सेवन गर्ने र अव्यवस्थित तरिकाले सुत्ने गर्छन् ।
उनीहरू दिउँसै पनि मदिरा सेवन गरेको अवस्थामा भेटिन्छन् । रमेशले साथीहरू मीनबहादुर र प्रेम सार्कीसँग जिप पार्कपछाडिको झुप्रोमा सुत्ने गरेको बताए । ‘काम राम्रो हात लाग्दा दिनकै दुई÷तीन हजारसम्म पनि हुन्छ’, उनले भने, ‘कहिलेकाहीँ एक रुपैयाँ पनि हुँदैन ।’
रमेश र उनका साथीहरूको खानाको पनि कुनै टुङ्गो छैन । पाइहाले खाना खाने नत्र मदिराको नसामा भोकै सुत्छन् । संयोजक लामाले उनीहरू दिनभर पनि मदिरा सेवन गरेर हिँड्ने गरेको बताइन् ।
‘जतिखेर पनि मदिराको नसामा हिँड्ने, रात परेपछि यत्तिकै सडकपेटीमा सुत्ने गर्नुहुन्छ’, उनले भनिन्, ‘छोरा आश्रममा आएपछि बेलाबेला भेट्न आउनुहुन्छ ।’ केही वर्षअघि रमेशजस्तै मदिराको दुव्र्यसनमा फसेका युवालाई ‘सेफ द युथ’ नामक संस्थाले पुनःस्थापनागृह पठाएको थियो ।
बागलुङ नगरपालिका–८ सिगानाका रमेशले दस वर्षअघि पर्वत, नाङ्लीवाङबाट लक्ष्मीलाई बिहे गरेका थिए । लक्ष्मीले किस्मतलाई तनहुँको दमौलीमा जन्म दिइन् । जति बेला रमेश दमौलीमा रिक्सा चलाउँथे ।
‘दस वर्ष दिल्लीमा सिलाइको काम गरेँ’, रमेशले भने, ‘नेपाल आएपछि मजदुरी सुरु गरेको हुँ ।’ श्रीमती लक्ष्मी पनि लामो समयदेखि मदिराको लतमा थिइन् । कमलपित्त रोगले गालेपछि उपचारकै क्रममा गत चैत १६ गते धौलागिरि अञ्चल अस्पतालमा उनको मृत्यु भयो ।
‘पहिलेदेखि नै रक्सी खाने बानी रहेछ’, रमेशले भने, ‘त्यसैले उसलाई लग्यो ।’ उनले आफू मदिराको लतमा फसेको कुरा भने संवेदनशील रूपमा लिएनन् । भने, ‘दिनभर भारी बोक्यो, बेलुका खायो, नखाए निद्रै लाग्दैन ।’
सडकमा दर्दनाक अवस्था देखेर किस्मतलाई आश्रम ल्याइएको संयोजक लामाको भनाइ छ । ‘कहिले चिसै सिँढीमा बाबासँग नाङ्गै सुतेको भेटिन्थे, शरीरमा राम्रो लुगा थिएन, खुट्टामा चप्पल हुन्थेन,’ उनले भनिन् ।
रमेशका दाजु ९ वर्षीय दीपक पनि अहिले पोखराको बालगृहमा छन् । चार वर्षअघि उनीसँगै बागलुङका पाँच सडक बालबालिकालाई उद्धार गरिएको थियो । आश्रममा किस्मतजस्तै २५ जनाले आश्रय पाइरहेका छन् । कोही मानसिक सन्तुलन गुमाएका छन्, कोही परिवार र आफन्त गुमाएका ।
मनोरोग, अपाङ्गता, गरिबीजस्ता कारणले सहाराविहीन बनेका व्यक्ति आश्रममा छन् । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम खोलिएको अभियन्ता मनीष रायमाझीले बताए ।
उनीसहितका युवा मिलेर तीन वर्षअघि बागलुङमा आश्रमको शाखा खोलेका हुन् । आश्रममा सुरक्षित आवाससँगै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पनि उपलब्ध गराइएको छ । आश्रम सञ्चालनका लागि देशविदेशमा रहेका नेपालीले आर्थिक सहायता प्रदान गरेका छन् ।
यस्तै सरकारी, गैरसरकारी संघसंस्था, निकायले पनि आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । गोविन्द टण्डन संस्थापक संरक्षक रहेका आश्रमको मुख्य कार्यालय मकवानपुरको हेटौँडामा छ । विभिन्न जिल्लामा शाखा छन् ।




















































































































































































































