सडक तथा खोला अतिक्रमण गरि बनाइएका ईटहरीका घरहरु भत्काउन उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी आफै सडकमा उत्रिएका छन् ।
उनी बुधबार बिहानैदेखि डोजर लिएर अतिक्रमण गरि बनाईएका घरको मुख्यगेट तथा पर्खालहरु भत्काउन निस्किएका हुन् ।
डोजर र नगर प्रहरी लिएर हिँडेका चौधरीले इटहरी–१७ को स्यार्सेकाली पम्प आसपासमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काएका छन् ।
मेयर चौधरीले सडक अतिक्रमण गरेर बनाइएका आधा दर्जन संरचनामा डोजर चलाएका छन् । सडक अतिक्रमण गरिएका संरचनापछि चौधरीले खोला अतिक्रमण गरेर बनाएको संरचना भत्काउन सुरु गरेका छन् । पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले नगर प्रहरी र डोजर लिएर आफैँ उत्रिनुपरेको नगरप्रमुख चौधरीले बताए ।



















































































































































































































