अविरल वर्षाका कारण बरेङ गाउँपालिकाका मोटरबाटो अवरुद्ध भएका छन् । सडक बनाउँदा गोरेटोसमेत मासिएकाले पैदलयात्रीले पनि सास्ती खेप्नुपरेको छ ।
बरेङबजार, ग्यालथुंगादेखि गाउँपालिका कार्यालय सुडाला हुँदै नयाँ बजारसम्मको प्रदेश सरकारको योजनाको मोटरबाटो पनि निर्माणाधीन रहेकोले यातायातमा समस्या भएको करिब २ हप्ता नाघिसकेको छ ।
बरेङदेखि धुल्लुबाँस्कोट छाप उर्लेनीको मोटरबाटो काउलेचौरमा अवरुद्ध भएको छ भने गाउँपालिको कार्यालयदेखि गुल्मीको शान्तिपुर सडकखण्ड दाउन्ने, काल्चे र घट्टेमा पहिरो जाँदा थुनिएको छ ।
त्यसै गरी बरेङ हुँदै गुल्मीको छापचौर, पूर्तिघाट सडकखण्ड पनि कालीगण्डकी करिडोरमा पहिरो खस्दा अवरुद्ध भएको गुल्मी छापचौर प्रहरी चौकीले जनाएको छ । वर्षाले गाउँपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्युत् पनि अवरुद्ध हुँदा सञ्चार, बैंक, विद्यालयमा असर पुगेको छ ।
यसै गरी जैमिनी नगरपालिका–९ पैयँुथन्थापका विभिन्न ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । वडा नं १० राङ्खानी–कुस्मीसेरा सडकखण्डमा रुम्टाखोला बढेका कारण बाटो अवरुद्ध भएको छ ।



















































































































































































































