१० कार्तिक २०८३, सोमबार

 

अमेजन वन फँडानी : विश्वकै सरोकार

ल्याटिन अमेरिकाका कैयौं देशमा फैलिएको अमेजन वन क्षेत्रमा डरलाग्दो परिणामको वनजंगल फँडानी भइरहेको छ । यसमा त्यस क्षेत्रमा जारी कृषि क्रियाकलाप, पूर्वाधार निर्माण र काठचिरानको मुख्य भूमिका छ । कुनै समय संरक्षित क्षेत्रलाई तेब्बर बनाउने उपलब्धि हासिल गरेको कोलम्बियामा समेत निराशाजनक अवस्था छ ।

कागजमा राम्रो देखिने नीति पनि कमजोर संस्थान र कानुनको अभावमा प्रभावकारी हुन सकेको छैन । अमेजन वर्षा–वनले विश्वव्यापी पानी चक्रमा मध्यस्थकर्ताको भूमिका निभाउँछ । त्यसकारण अमेजन वनमा हुने ठूलो फँडानीले त्यस क्षेत्रमा बस्ने तीन करोड मानिस मात्र होइन, विश्वभरका मानिसलाई नकारात्मक असर पर्नेछ । विश्वको कुल उष्ण वनमध्ये आधा अमेजन क्षेत्रमा छ ।

विश्वको कुल कार्बन उत्सर्जनको आठ प्रतिशत वनजगंल फँडानीका कारण हुने गर्छ । यो सम्पूर्ण युरोपेली संघको उत्सर्जनभन्दा धेरै हो । वन फँडानीको कारणले अमेजन वर्षा–वन क्षेत्र ठूलो परिवर्तनको सँघारमा रहेको वैज्ञानिकले चेतावनी दिएका छन् । अमेजन जलाशय क्षेत्रको विशेषताअनुरूप त्यहाँ हावामा रहेको पानीका कण चक्रीय प्रक्रियाबाट गुज्रेर निरन्तर वर्षा हुन्छ ।

वैज्ञानिकका अनुसार अत्यधिक वन फँडानीका कारण त्यो प्रक्रियामा अवरोध आउन सक्छ । यसले वर्षा–वनमा आश्रित पर्यावरण प्रभावित हुन्छ । सन् २०१८ मा विश्व वन्यजन्तु कोषले गरेको एउटा अध्ययनअनुसार अर्को शताब्दीसम्म विश्वको आधा समृद्ध वन लोप हुने जोखिममा छ । अमेजन क्षेत्रका देश वन फँडानी रोक्ने लक्ष्यमा असफल भइरहेका छन् ।

प्रभावकारी भनिएका संरक्षण नीति सफलसिद्ध भएका छन् । तर, हामी जलवायु परिवर्तन सुधार नहुने बिन्दुमा पुग्न नदिन चुप लागेर बस्न सक्दैनौँ । त्यस क्षेत्रको वन फँडानीको मुख्य कारक कृषि रहँदै आएको छ । कृषि क्षेत्रले ठूलो संख्यामा मानिसलाई रोजगारी दिइरहेकाले त्यसलाई प्रत्यक्ष हतोत्साही गर्ने कदम चाल्न राजनीतिज्ञ डराइरहेका छन् ।

तर, कृषिसम्बन्धी अदूरदर्शी अभ्यासले जमिनको अप्रभावकारी प्रयोग निम्त्याइरहेको हुन्छ । उदारणका लागि इक्वेडरमा कृषि क्षेत्रले कुल जमिनको ३० प्रतिशत हिस्सा ओगटेको छ, तर त्यसबाट ६ प्रतिशत मात्र कुल घरेलु उत्पादन सिर्जना हुन्छ । अमेजन वन क्षेत्रको विनाशमा सडक र अन्य पूर्वाधार परियोजना अप्रत्यक्ष चालक रहँदै आएका छन् ।

वातावरणीय सुरक्षालाई बेवास्ता गरी निर्माण भएको राजमार्ग परियोजनाले वन फँडानी बढाएको धेरै उदारण भेटिन्छ । आपराधिक समूह शक्तिशाली रहेको दूरदराजका क्षेत्रमा सरकारी उपस्थिति कमजोर हुन्छ । यसले ती क्षेत्रमा गैरकानुनी काठ–चिरान, सुन उत्खननजस्ता वातावरणलाई नकारात्मक असर गर्ने क्रियाकलाप बेरोकतोक चलिरहेको छ ।

त्यहाँ वन फँडानी रोक्न चालिएका सरकारी कदमको कुनै प्रभाव छैन । आपराधिक क्रियाकलापसँग लड्नका लागि सुरक्षा विधि मात्र अवलम्बन गर्दा मूल आर्थिक कारक जस्ताको तस्तै रहेका छैन । सन् २०१६ मा हस्ताक्षर भएको कोलम्बियाको शान्ति सम्झौताले विगतमा फार्क विद्रोहीको कब्जामा रहको अमेजन वनको ठूलो भू–भागलाई खुला गराइदियो ।

विगतमा फार्कले ती वन क्षेत्रमा काठकटानीविरुद्ध कडाइ गरेको थियो । तर, अब अहिले आपराधिक समूहले ती वन क्षेत्रको वन हत्याएर कोका उब्जनीदेखि अनियन्त्रित कृषि क्रियाकलाप सञ्चालन गर्न थालेका छन् । यसले गर्दा, सन् २०१५ यता कोलम्बियामा रहेको अमेजन वन क्षेत्रको विनाश तीन गुणाले बढेर हालसम्मकै उच्च हुन पुगेको छ ।

अमेजन क्षेत्रका देश वन फँडानी रोक्ने लक्ष्यमा असफल भइरहेका छन्, तर हामी चुप लागेर बस्न सक्दैनौँ । अमेजन संरक्षणमा नीतिगत योजनाको कमी छैन । मुख्य कुरा सरकारसँग बलियो राजनीतिक इच्छाशक्ति हुनुपर्छ ।

कोलम्बियाका पूर्वराष्ट्रपति हुवाँ म्यानुअल सान्तोषले आफ्नो कार्यकालमा संरक्षित क्षेत्र विस्तार नगरेका होइनन् । तर, त्यसको कार्यान्वयन पक्ष कमजोर रहेकाले एक लाख २४ हजार एकडको संरक्षित क्षेत्रका लागि एकजना रेन्जर छुट्याइएका थिए । यसले संरक्षित क्षेत्र आपराधिक समूहबाट सुरक्षित हुन सकेन ।

विगतको अवस्था सम्बोधन गर्नका लागि अहिलेको प्रशासनले वन सुरक्षा गर्ने सुरक्षा फौज वृद्धि गर्ने निर्णय गरेको छ । तर, वातावरण अधिकारी अझै पनि न्यून बजेट, सीमित कर्मचारी र औजारको अभावसँग संघर्ष गरिरहेको छन् ।

पेरुमा अमेजन वन क्षेत्रमा सञ्चालन भइरहेको गैरकानुनी सुन उत्खनन रोक्न वर्षौंदेखि विभिन्न प्रयास भइरहेको छ । वर्षौंसम्मको प्रहरी र सैन्य कारबाहीका बाबजुद गैरकानुनी सुन उत्खनन्बाट हुने वन फँडानी सन् २०१८ मा सबैभन्दा उच्च पुग्यो ।

वर्षमै २३ हजार एकड वन फँडानी भएपछि पेरु सरकारले फेब्रुअरीमा माद्रे दे डियोस क्षेत्रमा संकटकाल घोषणा ग-यो । वन फँडानी रोक्ने नीतिको सफल कार्यान्वयनको उदारण नभएका होइनन् ।

वन फँडानी उल्ट्याउन सफल ती नीति तुलनात्मक रूपमा थोरै मूल्यमै कार्यान्वयन भएका छन् । साना तथा ठूला किसानलाई अनुदान रकम दिने कार्यले किसानमा दिगो कृषि अभ्यास अंगीकार गर्ने क्रम बढाएको पाइएको छ । सन् २००४ देखि सन् २०१२ बीच ब्राजिल सरकारले वन फँडानी दर ८० प्रतिशतले न्यूनीकरण गरेको थियो ।

तर, त्यो अवधिमा सोया र गाई–बस्तुजन्य उत्पादन घट्नुको साटो वृद्धि नै भयो । यसले वन फँडानीविनै कृषि उत्पादनमा वृद्धि सम्भव रहेको देखाउँछ । ती दिन किसानले बाँझो जमिनको उपयोग बढाए र प्रभावकारितामा सुधार गरे ।

सन् २००६ मा ब्राजिलका सोयाबिन किन्ने व्यापारीले अमेजन वर्षा–वन फँडानी गरेर फलाइएको सोया नकिन्ने सम्झौतासम्म गरेका थिए । ल्याटिन अमेरिकी देशमा सरकारले पूर्वाधार कार्यक्रममा पारदर्शिता बढाउन खोजिरहेको छ । यसले पूवार्धार योजना प्रक्रियामा थप उपयुक्त वातावरणीय योजना समावेश गर्ने वातावरण सिर्जना गरेको छ । अध्ययनअनुसार संरक्षित क्षेत्र निर्माण गर्दा वनमा हुने आगलागीलाई ६ प्रतिशतसम्मले घटाउँछ ।

अनुगमन र नियम कानुनमा सुधार गर्दा यो दर थप बढ्छ । ल्याटिन अमेरिकाका आदिवासी बस्ने संरक्षित क्षेत्रमा आगलागीका घटना १६ प्रतिशतसम्मले कम रहेको पाइएको छ । आखिर वनमा हुने आगलागीको मुख्य उद्देश्य वन फँडानी नै हुन्छ । आर्थिक अनुदानले वृक्षारोपण तथा वन संरक्षणलाई प्रोत्साहित गर्न सक्छ । इक्वेडरको सरकारले त्यहाँका जमिनदारलाई वन क्षेत्र संरक्षण गरिराखेमा अनुदान दिने कार्यक्रम ल्याउँदा वन फँडानी दर ५० प्रतिशतले कटौती भयो ।

अमेजन संरक्षण गर्नेमा नीतिगत योजनाको कमी छैन । मुख्य कुरा तिनलाई संस्थागत गर्नका लागि सरकारसँग बलियो राजनीतिक इच्छाशक्ति हुनुपर्छ । अमेजन संरक्षणमा अवरोध नगर्ने गरी सम्पन्न गरिने आर्थिक विकासका अवसर पहिचान गर्नु अमेजन जलाशय क्षेत्र र विश्वको लागि सबैभन्दा उपयुक्त कदम हुनेछ ।नयाँपत्रिकाबाट

(लिसा भिस्सिडी र एन्रिक ओर्टिज अमेजन नदी र जलवायु परिवर्तन विषयविज्ञ हुन्) 
 “via The New York Times”
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung