रोटरी र रोट्र्याक्ट क्लबका बागलुङ जिल्ला कार्यसमितिले नयाँ नेतृत्वको पदस्थापन कार्यक्रम सम्पन्न गरेका छन् ।
रोटरीको यो १४ औं र रोट्र्याक्टको नवौं पदस्थापन हो । कार्यक्रममा रोटरी क्लब अफ बागलुङ र रोट्र्याक्ट क्लब अफ बागलुङका वर्ष २०१९र०२० का अध्यक्षहरू क्रमशः ओमप्रकाश पौडेल र सुमितबहादुर शाहीले पदभार ग्रहण गरे ।
रोटरी बागलुङकी वर्ष २०१८र०१९ की अध्यक्ष विना कार्कीले पौडेललाई र रोट्र्याक्टका अघिल्लो वर्षका कार्यवाहक अध्यक्ष नवीन पन्तले शाहीलाई पदभार हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा दुवै क्लबका नयाँ कार्यसमिति घोषणासँगै नयाँ सदस्यहरूलाई पिन हस्तान्तरण गरिएको थियो । क्लब र समाजमा रहेर उत्कृष्ट र उदाहरणीय काम गर्नेहरूलाई सम्मान पनि गरियो ।
पदस्थापन कार्यक्रम उद्घाटन गर्दै रोटरी डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले समाज रूपान्तरणका लागि सबैले व्यक्तिगत स्वार्थ थाती राखेर काम गर्नुपर्नेमा जोड दिए । रोट्र्याक्ट जोन फोका जेडआरआर सुदीप प्रसाईले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा रोटरी र रोट्र्याक्टद्वारा प्रकाशित पत्रिका ‘अर्पण’को विमोचन पनि गरियो ।
कार्यक्रममा बालकृष्ण शर्माले रोटरी अध्यक्ष पौडेल र ताराप्रसाद शर्माले रोट्र्याक्ट अध्यक्ष शाहीको व्यक्तित्वमाथि प्रकाश पारेका थिए । अध्यक्षद्वयले आफ्नो वार्षिक कार्ययोजनासहित प्रतिबद्धता मन्तव्य व्यक्त गरेका थिए ।
अघिल्लो वर्षका अध्यक्षहरू कार्की र पन्तले रोटरी र रोट्र्याक्ट क्लबले वर्षभरि गरेका कामबारे जानकारी गराएका थिए ।
रोटरी अध्यक्ष पौडेलको अध्यक्षता, आगामी अध्यक्ष दयाराम पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रम रोटरी सचिव दीपेन्द्र घिमिरे, रोट्र्याक्टका झोकेन्द्र थापा र साधना पन्तले सञ्चालन गरेका थिए ।




















































































































































































































