१४ कार्तिक २०८३, शुक्रबार

 

कालिका मन्दिर परिसरबाट भिखारी हटाइए

बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिरवरपर बसेर भिख माग्दै आएकाहरूलाई हटाउन थालिएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समिति, मानव सेवा आश्रम बागलुङ र प्रहरी प्रशासनको समझदारीमा मन्दिर परिसरमा बसेर भिख माग्नेहरूलाई त्यहाँबाट हटाएर मानव सेवा आश्रममा राख्ने सहमति भएको समिति अध्यक्ष राजु खड्काले बताए ।

मन्दिरमा पूजाअर्चना गर्न आउनेहरूलाई जबर्जस्ती पैसा माग्ने, नदिए मनपरी ढंगले प्रस्तुत हुने प्रवृत्ति देखिएकाले हटाउन बाध्य भएको उनको भनाइ छ ।

मानव सेवा आश्रम कुनै सहारा नभएकालाई आश्रय दिने उद्देश्यले स्थापना भएको हो । अहिले सबैको सल्लाहअनुसार भिख माग्दै आएकाहरूलाई राखिएको आश्रम सञ्चालिका सुमिरा लामाले बताइन् ।

मन्दिर परिसरबाट २ जनालाई आश्रममा ल्याइएको छ भने जोगी–संन्यासीहरू अन्तै हिँडेका छन् ।

सरकारले सार्वजनिक स्थानमा बसेर भिख माग्नुलाई गैरकानुनी घोषणा गरेको छ । भिख माग्नेहरूले मदिरा सेवन गरेर हल्ला, झगडा गर्दा मन्दिरको वातावरण बिग्रेको भनी उजुरी परेपछि प्रहरी प्रशासन, मन्दिर व्यवस्थापन समिति र आश्रम मिलेर यो कदम उठाएका हुन् । यसलाई स्थानीयले सकारात्मक काम भनी प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung