सरकारले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ । साउन २७ (अगस्ट १२) मा पर्ने दिवस मनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेका छन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षता तथा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्षको संयोजकत्वमा राष्ट्रिय मूल समारोह समिति बनाएर केन्द्रमा समेत भव्य कार्यक्रम आयोजना गर्न लागिएको संघीय मामिला मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता विनोदबहादुर कुँवरलाई सदस्य–सचिव तोकिएको मूल समारोह समिति १७ सदस्यीय रहनेछ । सरकारी कार्यालयका अतिरिक्त ६ संघसंस्थाको प्रतिनिधित्व रहने समितिले युवा सम्मिलित सरकारी, गैरसरकारी, सामुदायिक तथा निजी संघसंस्थासँग समन्वय गरी कार्यक्रम सम्पन्न गर्ने जनाइएको छ ।



















































































































































































































