१४ कार्तिक २०८३, शुक्रबार

 

जम्मु–कश्मीर जाने नेपालीलाई सचेतना डेस्क

फाइल तस्बिर

सरकारले सुदूरपश्चिमका नाका हुँदै भारतको जम्मु–कश्मीर जाने नेपालीलाई लक्ष्यित गरी सचेतना डेस्क राख्ने तयारी गरेको छ । जम्मु–कश्मीरमा केन्द्रीय शासन लागू गर्ने भारत सरकारको निर्णयसँगै त्यहाँको बदलिँदो सुरक्षा संवेदनशीलता ध्यानमा राखेर यात्रुलाई सचेत गराउन लागिएको हो ।

सुदूर पश्चिमबाट दैनिक हजारौं नेपाली विशेष गरी बर्खे खेती सकेपछि कामको खोजीमा भारत जान्छन् । बझाङ, बाजुरा, डोटी, अछाम, जाजरकोटलगायत जिल्लाबाट युवाको लर्को नै लागेको हुन्छ । यति बेला गएका उनीहरू केही रकम कमाएर पर्वका बेला फर्कन्छन् ।

भारत सरकारले त्यस क्षेत्रबाट अमरनाथ जाने तीर्थयात्रीलाई समेत केही दिनदेखि फर्काइरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले प्रदेश ७ का नाकामा त्यस किसिमको डेस्क राखेर स्थानीय प्रशासनले सचेत गराइरहेको जानकारी गराए । ‘त्यस क्षेत्रबाट आवतजावत गर्ने यात्रु तथा कामदारको यकिन तथ्यांक नभए पनि नाकामा त्यस किसिमको कार्य सञ्चालनमा छ,’ उनले भने ।

भारत सरकारले आइतबारको निर्णयसँगै जम्मु–कश्मीरमा सुरक्षाव्यवस्था कडा बनाएको छ । त्यहाँ अघोषित कफ्र्युको अवस्था छ । वर्षौंदेखि विवादमा रहँदै आएको भूमिलाई भारतले केन्द्रशासित दुई छुट्टाछुट्टै प्रदेशमा विभाजित गरेको हो । त्यहाँका विद्यालय र सरकारी कार्यालयसमेत बिदा गरिएको छ । आवतजावतमा कडाइ छ । सेनाको संख्या बढाइनुका साथै फोन र इन्टरनेट काटिएको छ ।

खास गरी गड्डाचौकी, वनवासा नाका भएर आउने–जाने यात्रुका लागि सुझाव डेस्क सञ्चालनमा ल्याइएको गृह मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung