१४ कार्तिक २०८३, शुक्रबार

 

तीज भड्किलो नबनाउन काठमाडौँ प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीज पर्व मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेको छ । तीज आउनु धेरैअघिदेखि नै पार्टी प्यालेस बुकिङ गरेर तडकभडयुक्त तबरबाट मनाउने क्रम सुरु भएपछि कार्यालयले यस्तो विज्ञप्ति जारी गरेको हो ।

कार्यालयका सूचना अधिकारी कृष्णबहादुर कटुवालले स्थानीय तह र स्थानीय प्रहरीको समन्वयमा तीजलाई मौलिक संस्कृतिका रूपमा मनाउन अनुरोध गरिएको जनाएका छन् । पछिल्लोपटक तीज मनाउने क्रममा मौलिक संस्कृति मेटिँदै गएको गुनासो प्रशासनमा आएको उनले बताए ।

‘तीजको आफ्नै मौलिक विशिष्टता एवं सामाजिक परम्परा छ,’ उनको भनाइ छ, ‘माइती र चेलीलाई मात्र नभएर सिंगो समाजलाई जीवन्त, मौलिक र पारस्परिक सम्बन्धबाट यसले जोड्दै आएको छ ।’ सूचनामा पछिल्लो समय तीज आउनुभन्दा धेरैपहिलेदेखि तडकभडक, गहगरहना र लुगाको प्रदर्शन, आडम्बर, उत्ताउलोपन, फजुल खर्च, ध्वनिप्रदूषण र चोरी हुने गरेको उल्लेख छ ।

यसअघि रूपन्देही र तनहुँ प्रशासनले पनि यस्तै प्रकृतिको सूचना जारी गरेर सर्वसाधारणलाई सचेत गराएका थिए । काठमाडौंमा मात्र करिब ५ सय पार्टी प्यालेस छन् । तिनमा प्रत्येक दिनजसो कुनै न कुनै समूह वा पारिवारिक आयोजनामा दर खाने नाममा तीजअगावैदेखि कार्यक्रम हुँदै आएको छ । यस वर्षको तीज आगामी भदौ १६ गते परेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung