न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार रवि लामिछाने तथा सञ्चारकर्मी युवराज कँडेललाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो । यस अघि आज दिउँसो प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई पनि नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि चितवन पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए।
उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही दिनअघि चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पहिले न्युज २४ टेलिभिजनमा नै काम गरेका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा उनले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू आत्महत्याको अवस्थामा पुगेको उल्लेख गरेका छन्।



















































































































































































































