जिल्ला प्रहरी कार्यालय चितवन परिसर
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा बिहीबार पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवनमा पेस गरिने भएको छ ।
चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले पक्राउ परेका तीनै जनालाई अदालतबाट म्याद थप गरि ल्याएपछि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने जानकारी दिए ।
रवि लामिछानेको समर्थनमा हुनसक्ने प्रदर्शनलाई मध्यनजर गर्दै चितवन प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवन र वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । लामिछानेसहित तीनै जनालाई कडा सुरक्षाबिच अदालत पुर्याउने तयारी गरिएको छ।
हिजो बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पत्रकार रवि लामिछाने तथा सञ्चारकर्मी युवराज कँडेललाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको थियो । हिजो दिउँसो नै प्रहरीले कलंकीबाट ओखलढुंगा घर भएकी अस्मिता कार्कीलाई पनि नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका तीनै जनालाई कडा सुरक्षाबीच मध्यराति चितवन जिल्ला प्रहरी कार्यालय पुर्याइएको हो।




















































































































































































































