पर्वतको विहादी गाउँपालिकाको केन्द्रको विषय पेचिलो बन्दै गएको छ । गाउँपालिकाको केन्द्र प्रदेश सरकारले ईमिचौरमा बनाउन बजेट विनियोजन गरेपछि केही ईमिचौरमा केन्द्र बनाउनुपर्ने अडानमा छन् भने केही अहिले भईरहेको वहाकीठाँटीमा केन्द्र बनाउनुपर्ने पक्षमा छन् । अहिले भईरहेको केन्द्र अपायक स्थानमा रहेको भन्दै अहिलेसम्म केन्द्र सार्नुपर्ने माग भईरहेको छ ।
प्रदेश सरकारले १ करोड बजेट भवन बनाउन ईमिचौर केन्द्र तोकेर पठाएपछि केन्द्र सार्न माग गरेका जनप्रतिनिधीहरुलाई केन्द्र सार्ने विषय उठान गर्न सहज भएको छ । विहादी-३ रानीपानीका वडाध्यक्ष रनबहादुर आलेले केन्द्र जुनसुकै हालतमा पनि सार्नुपर्ने अडानमा रहेको बताए । उनले प्रदेशका विभिन्न मन्त्रालयमा बहुमतसहित केन्द्र सार्ने माग लगेर बुुझाएको बताए । गाउँपालिकामा पनि माग बुझाएको आलेको भनाई छ ।
गत शुक्रबार जनप्रतिनिधी र स्थानीय बुद्धिजिवीहरुको माग लिएर जनप्रतिनिधीहरु गाउँपालिकामा पुगेका थिए । दुई तिहाई प्रतिनिधीहरुको हस्ताक्षरसहित ईमिचौरमा केन्द्र सार्न माग लिएर गएकोमा अध्यक्ष कमलप्रसाद भुसालले तोकादेश दिन अस्विकार गरेको विहादी-३ का वडाध्यक्ष आलेले बताए । उनले केन्द्र सार्ने विषयमा छलफल गर्न अध्यक्ष नै उदासिन हुँदा प्रदेशले विनियोजन गरेको बजेट फ्रिज हुने स्थिति आएको बताए ।
विहादी-२ का वडाध्यक्ष ओमप्रसाद कुँवरसहित सबै वडासदस्य, कार्यपालिका सदस्यहरु, वड ३ का सबै सदस्यहरु, वडा १ का प्रतिनिधीहरु ईमीचौरमा केन्द्र सानुपर्ने अडानमा छन् । दुई तिहाई मतले केन्द्र सार्न सक्ने संवैधानिक व्यवस्था नै छ । तर बहुमतको निर्णय अटेर गर्ने मनस्थितीमा अध्यक्ष नै लागेपछि केन्द्रको विवाद पेचिलो बनेको हो ।
गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसाल संघ सरकारले तोकेको वहाकी नै केन्द्र रहने अडानमा छन् । उनले प्रदेशले केन्द्र सार्ने अधिकार नै नभएको बताएका छन् । प्रदेशले प्रिन्ट मिस्टेक गरेर ईमिचौरमा केन्द्र भनेर बजेट विनियोजन गरेको भन्दै त्यसलाई सच्चाउन आग्रह गरेको भुसालले बताए । उनले केन्द्र बनाउन वहाकीमा जग्गासमेत खरिद भ इसकेको जानकारी दिए । तर १६ जना गाउँपालिकाका जनप्रतिनिधीहरुले भने केन्द्र सार्ने बारेमा सक्रीयता बढाएका छन् ।



















































































































































































































