नेविसंघका जिल्ला तहका नेता सन्तोष पाठकले आफ्नो जन्मदिनको खर्च क्यान्सरपीडितलाई सहयोग गरेका छन् । फलेवास नगरपालिका–११ पाङराङनिवासी पाठकले सोमबार कुस्मा नगरपालिका–४ का क्यान्सरपीडित मीन परियार खड्केलाई ७ हजार ५ सय रुपैयाँ उपलब्ध गराएका हुन् ।
२९ वर्षीय परियार आन्द्रामा क्यान्सर भई दिल्लीस्थित राजिव गान्धी हस्पिटलमा उपचाररत छन् । आर्थिक अवस्था कमजोर भएका कारण परिवारले सहयोगको याचना गर्दै आएको छ ।
‘म आफ्नो बर्थडे सेलिब्रेसन गरेर रमाइलोभन्दा पीडित परियारको मुहारमा उज्यालो हेर्न चाहन्थें,’ पाठकले भने, ‘थोरै रकम भए पनि सहयोग गर्न पाउँदा खुसी छु ।’
पाठक नेविसंघ फलेवास नगरपालिकाका संयोजक, गुप्तेश्वर बहुमुखी क्याम्पसका एकाइ सचिव हुन् । उनले अघिल्लो वर्ष आफ्नो जन्मोत्सवका अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत विपन्न समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा काग्रेस युवा नेता युवराज जोशीले सेवा नै धर्म भएको बताए ।
उनले जन्मदिनमा गरिने फजुल खर्च सामाजिक सेवामा लगाउन कार्यकर्तालाई आग्रह गरे ।



















































































































































































































