आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सेयर सदस्य सावित्री केसीको परिवारलाई राहतस्वरूप ५ हजार रुपैयाँ प्रदान गरेको छ ।
संस्थाले सेयर सदस्यको परिवारमा कसैको निधन हुँदा यस्तो रकम उपलब्ध गराउनुका साथै श्रद्धाञ्जलीसभा आयोजना गर्ने गरेको छ ।
बागलुङ नगरपालिका–२ की सावित्रीकी सासूआमा गौरी केसीको ७२ वर्षको उमेरमा साउन २४ गते निधन भएको थियो । १२औं दिनको पुण्यतिथि पारेर मंगलबार आयोजित श्रद्धाञ्जलीसभा संस्थाकी अध्यक्ष हुमाकुमारी जिसी अन्जु, सञ्चालक गीता खड्का, कमल लामिछानेले रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सेयर सदस्य महेशचन्द्र प्रधान र रुद्र महतको पनि उपस्थिति थियो ।
साविक धौलागिरि अञ्चलकै पहिलो सञ्चार सहकारीका रूपमा स्थापित आदर्श सञ्चारले परिवार सदस्यको निधनमा ५ हजार र सेयर सदस्यकै निधन हुँदा १५ हजार रुपैयाँ राहतस्वरूप हस्तान्तरण गर्दै आएको छ ।



















































































































































































































