फाइल तस्बिर
जैमिनी नगरपालिका–९ पैयुँथन्थापका राजु शर्मा मंगलबार बिहानै पिकअप भ्यानमा अटाई–नअटाई यात्रु बोकेर बलेवाको कालभैरव मन्दिर पुगे । मध्याह्न १२ बजेसम्म यसरी यात्रु ओसार्ने गाडीको संख्या एक सयभन्दा बढी थियो । कोही लिएर आएका दर्शनार्थीलाई पूजाआजा सकुन्जेल पर्खिरहेका थिए भने कोही मन्दिर पुर्याउनासाथ फर्किए ।
साना सवारीमा र पैदल जाने यात्रुको भीड पनि उत्तिकै थियो । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित भैरवस्थानमा भदौको पहिलो मंगलबार सधैं यस्तै हुन्छ । साउन सकिएपछि अरू बेलाभन्दा धेरै भीड हुने गरेको पुजारी बताउँछन् । यातायात सहजताका कारण पछिल्ला वर्ष आगन्तुक झन् थपिँदै छन् ।
मंगलबार बिहान सातै बजे पुगेका जैमिनी–१ कुस्मीसेराका प्रकाश नेपाली दिउँसो १२ बजेसम्म लाइन बसे । मन्दिरको गेटनजिक पुग्नै घण्टौं लागेको उनले गुनासो गरे । उनीअघि सयौं मानिस लाइनमा थिए । पर्वतको कुस्मा नगरपालिका–१ फर्सेका विमल शर्मा पनि १२ बजेसम्म पालो कुरेरै बसिरहेका थिए । मन्दिर हरेक मंगलबार र शनिबार मात्रै खुल्छ ।
बाइसे–चौबीसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मंगलबार हरेलो पर्व मनाउने चलन छ । खेतीपाती सकेपछि कीरा–फट्यांग्रा र बाढीपहिरो नलागोस् भनेर यो पर्व मनाउने चलन रहेको बलेवा, पैयुँपाटाका भवानीप्रसाद रिजालले बताए ।
यो पर्वको अवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनःकांक्षा पूरा हुने जनविश्वास छ । दसैंको नवमीको दिन पनि कालभैरवमा भीड लाग्ने गरेको बागलुङ–१२ अमलाचौरका वडाध्यक्ष गुरुदत्त पाठकले बताए । बलेवा कालभैरव साबिकको पश्चिमाञ्चलकै प्रसिद्ध तीर्थस्थल हो ।
यस वर्ष भदौको पहिलो मंगलबार एक हजारभन्दा धेरै भक्तालुले दर्शन गरेको पाठकले जानकारी दिए । कालभैरवलाई पशुबलिसँगै नरिवल र फलफूल चढाउने चलन छ ।
कालभैरवमा बलि दिँदा घरपरिवारको दुःख नाश हुने र सुखशान्ति प्राप्त हुने विश्वासले आउने गरेको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी नानु बुढाथोकीले बताइन् । पछिल्लो समय पशुबलिको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदै गएको छ । तर पशुबलि दिने चलन पनि अन्त्य भइनसकेको स्थानीय नन्दप्रसाद घिमिरेले बताए ।
कालभैरवमा गण्डकी प्रदेशका पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ र ५ नम्बर प्रदेशका गुल्मी, प्युठान, अर्घाखाँची र काठमाडौं तथा चितवनसम्मबाट दर्शनार्थी आउने गरेका छन् ।

तस्बिर : आरके अदीप्त गिरी



















































































































































































































