
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको नवनिर्मित भवन अज्ञात समूहले तोडफोड गरेको छ ।
निर्माणाधीन सभाहलको युपिभिसी भत्काउनुका साथै पानीको मोटर, बिजुलीको मिटर बक्स, एमसिपी र इन्टरनेटको तार काटेर टुक्राटुक्रा पारिएको पाइएको महासंघले जनाएको छ । पछिल्लो तीन सातायता शनिबारका यस्ता घटना भइरहेको महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताए ।
यसबारे जिल्ला प्रहरी कार्यालयमा मौखिक जानकारी गराइएको उनको भनाइ छ ।
‘अहिलेको तोडफोड क्षतिका हिसाबले ठूलो होइन तर पत्रकारहरूको साझा संस्थामाथिको लगातारको घटना सांकेतिक आक्रमण हो कि भनेर संवेदनशील हिसाबमा लिएका छौं,’ शिरीषले भने, ‘प्रहरी कार्यालयकै सम्मुख भएको यस किसिमको घटनाले प्रहरी स्वयंलाई पनि प्रश्न उठेको छ ।’ महासंघले भवनआसपास काँडेतारले घेरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरीप्रमुख नवराज भट्टले महासंघ भवनमा रातिको समयमा भएको तोडफोडबारे मौखिक जानकारी आएको र आवश्यक अनुसन्धान जारी राखिएको बताए । यस्तो किसिमको घटना हुन नदिन बजारमा सिसी क्यामरा जडानका लागि आग्रह गरिएको जनाउँदै उनले आवश्यक निगरानी बढाउने बताए ।