१४ कार्तिक २०८३, शुक्रबार

 

सहारा बन्दै घुम्टे युवा परिवार

हिजोआज विद्युत् नपुगेको र पक्की शौचालय नहुने घर भेट्न मुस्किल पर्छ । तर गलकोट नगरपालिका–७ मल्म, भल्साङकी एक महिला झन्डै ४ दशकदेखि अँध्यारोमा रात कटाउन र पाखाझाडीमा शौच गर्न बाध्य थिइन् ।

मल्ममा २०५६ सालमा स्थानीय दरम खोलाबाट विद्युत् उत्पादन गरी प्रयोगमा ल्याइएको थियो । त्यस्तै २०६८ सालदेखि केन्द्रीय विद्युत्समेत विस्तार भई अहिले पूरै वडामा पुगिसकेको छ । मल्म, भल्साङकी मनकुमारी थापाको घरमा केही दिन पहिलेसम्म न विद्युत् थियो न त पक्की शौचालय । एकल महिला उनले टुकी र दियालोको भरमा ४ दशक बिताइन् । अहिले उनको घर सौर्य ऊर्जाले झलमल्ल छ । पक्की शौचालय बनेको छ । उनी निकै खुसी छिन् ।

स्थानीय सामाजिक संस्था घुम्टे युवा परिवारले उनको जीवनमा खुसी ल्याइदिएको हो । संस्थाको जापान शाखाको सक्रियतामा ३ लाख रुपैयाँ संकलन गरेर थापालाई सहयोग गरिएको शाखाका अध्यक्ष दिलबहादुर थापा (रामु)ले जानकारी दिए । एक लाखमा पक्की शौचालय निर्माण, सोलार सेट जडान, खानेपानी पाइप र हिल्टेक ड्रम सहयोग गरी बाँकी २ लाख रुपैयाँ उनलाई उपलब्ध गराइएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले जानकारी दिए । श्रीमान् र २ छोराको मृत्यु भएपछि २० वर्षयता थापा एक्ली छिन् ।

कोही नभएपछि बेसाहाराजस्तै भौँतारिँदैं हिँड्ने आफूलाई संस्थाले खुसी र उत्साह ल्याइदिएको थापाले बताइन् । २०४१ सालमा स्थापित घुम्टे युवा परिवारले स्थानीय स्तरमा सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ । समयसमयमा तालिम, गोष्ठी, बेसहारालाई सहयोग, सामाजिक जागरणलगायत कामलाई निरन्तरता दिइएको क्लबका संस्थापक सदस्य रामचन्द्र गौतमले जानकारी दिए ।

थापाको आयस्रोत भनेको एकल वृद्धाभत्ता मात्रै हो । झन्डै ५ हल गोरु लाग्ने बारी भए पनि बुढ्यौलीले काम गर्न सक्ने अवस्था छैन । अभावैअभावसँग जुध्दै बाँचिरहेकी थापालाई सहयोगका लागि समन्वय गरिएको गलकोट नगरपालिका–७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापाले बताए । सात सय बगाले थापा समाज, फूलबारी आमा समूह र जनहित कला केन्द्र मल्मले गोठ मर्मतसम्भारलगायतमा सहयोग गरेको थापा समाजका सचिव टोपबहादुर थापाले जानकारी दिए । बिहान–बेलुकी छाक टार्नै समस्या परेकी थापाका लागि स्थानीय बासिन्दा र फूलबारी आमासमूहले खाद्यान्न सामग्रीसँगै अन्य विभिन्न सहयोग गर्दै आइरहेको समूहकी अध्यक्ष मनकुमारी खड्काले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung