मालिका सेवा समाज बागलुङले शनिबार म्याग्दीको गलेश्वर मन्दिरस्थित वृद्धाश्रममा आश्रय लिइरहेकाहरूलाई भोजन गराएको छ ।
हरितालिका तीजको अवसरमा संस्थाले वृद्धवृद्धा तथा वटुकहरुलाई दर खुवाएको हो ।
कार्यक्रममा प्रमुख अतिथि समाजका संरक्षक तथा पूर्वऊर्जाराज्यमन्त्री रामजीप्रसाद शर्माले भड्किलो तीज मनाउने प्रवृत्ति अन्त्यका लागि बेसहारा बनेकालाई दर खुवाइएको बताए ।
कार्यक्रममा अन्नदाता क्षेत्र विकास कोष गलेश्वरका अध्यक्ष भीमनाथ पराजुली, स्वामी ऋषि प्रपन्नाचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मालिका सेवा समाज अध्यक्ष दुर्गा कुँवरले भोजन गराउन २० हजार उपलब्ध गराउनुका साथै छुट्टै ५ हजार रुपैयाँ सहयोग गरे । कलाकार रिना केसी र कुसुम बुढाथोकीले तीजका गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रम समाज अध्यक्ष कुँवरको अध्यक्षता, उपाध्यक्ष जीवननाथ शर्माको स्वागत तथा सचिव तेजेन्द्रबहादुर कुँवरको सञ्चालनमा भएको थियो ।




















































































































































































































