१४ कार्तिक २०८३, शुक्रबार

 

पहिरोले गाउँमै थुनिए स्थानीय

उत्तरी धादिङको विकट रुबीभ्याली गाउँपालिका–५ नेवेरगाउँका बासिन्दा पहिरोले गाउँमै थुनिएका छन् । भएको एक मात्र बाटो छेकिएपछि गाउँ नै सम्पर्कविहीन हुन पुगेको छ ।

केही दिनदेखिको निरन्तर वर्षाले पहाड खसेर गणेश हिमाल खोला थुनिएको र पहिरो पार गर्ने नसकिने खालको रहेको वडाध्यक्ष धीरज तामाङले बताए । आउजाउ गर्न नसक्दा अन्य गाउँहरूसँग सम्पर्कविच्छेद हुन पुगेको उनले जानकारी दिए ।

उक्त गाउँमा पैँसट्ठी घरधुरी छन् । गाउँबाट तातोपानी हुँदै जाने बाटोमा पहिरो खस्नुका साथै खोला थुनिएकाले सम्पर्क टुटेको स्थानीय टिसमान तामाङले बताए ।

सदरमुकामबाट तीन दिनको पैदलदुरीमा रहेको नेवेर गाउँ गणेश हिमालको फेदीमा रहेको तामाङ बस्ती हो । आउजाउ नै बन्द भएकाले गाउँमा थप समस्या तथा विपद् पर्दा सहयोगसमेत गराउन नसकिने अवस्था निम्तिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung