१४ कार्तिक २०८३, शुक्रबार

 

बेसहारा वृद्ध दम्पतीलाई पक्की घर

गलकोट नगरपालिका–९ मल्मका बेसहारा राम्जाली दम्पतीले घर पाएका छन् । न्यु नवज्योति युवा क्लबको पहलकदमी र ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीको २ लाख रुपैयाँको आर्थिक सहयोगमा पक्की घर तयार भएको हो ।

घर हस्तान्तरण गर्न सोमबार अयोजित कार्यक्रममा नगरप्रमुख नेपालीले विपन्न वर्गको समृद्धिका लागि जनप्रतिनिधिले भाषण होइन, काम गरेर देखाउनुपर्ने बताए । गलकोट–९ का वडा सदस्य धर्मदत्त सापकोटा, घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देशले शुभकामना व्यक्त गरे ।

राम्जाली परिवारको अवस्थाबारे सामुदायिक रेडियो गलकोट एफएम १०२.४ मेगाहर्जले केही महिनापहिले समाचार प्रसारण गरेपछि सामाजिक संस्था घुम्टे युवा परिवार मल्मले खाद्यान्न र बिस्तारा सेट सहयोग गरेको थियो । स्थानीय स्तरमा विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय नवज्योति क्लबले राम्जाली परिवारलाई घर बनाइदिने योजना तय गरेको थियो ।

संस्थाको २३औं वार्षिकोत्सवका अवसरमा प्रमुख अतिथि रहेका ढोरपाटन नगरप्रमुख नेपालीले अभियान सफल पार्न आर्थिक सहयोग गर्ने घोषणा गरेबमोजिम घर बनाई हस्तान्तरण गरिएको नवज्योति क्लब अध्यक्ष सुरेन्द्र केसीले बताए । यसअघि वृद्ध दम्पतीलाई खाद्यान्नसमेत सहयोग गरिएको क्लबका पूर्वअध्यक्ष होम थापाले जानकारी दिए । घर पाएपछि राम्जाली दम्पतीले खुसी व्यक्त गरेको छ । घर निर्माणका लागि क्लबले स्थानीय पत्रकार मित्र खरेललाई जिम्मा दिएको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, नवज्योति क्लबका प्रतिनिधि, पत्रकार, स्थानीय बासिन्दालगायतको उपस्थिति थियो । कार्यक्रम गलकोट–९ का वडाध्यक्ष तेजबहादुर थापाको अध्यक्षता, छिस युवा परिवारका कोषाध्यक्ष विदुर खरेलको स्वागत र पत्रकार खरेलको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung