बडिगाड गाउँपालिका–४ जलजलामा जसै विद्युत् आयो, सम्भावनाका ढोकाहरू एकसाथ उघ्रिए । अहिले गाउँमै कुटानीपिसानी मिल चलेको छ । लोक्ता र टायल उद्योग छ । विद्यार्थीले कम्प्युटर चलाउन पाएका छन् । गाउँबस्ती उज्यालिएका छन् ।
यो सबै चाचलाघाट लघुजलविद्युत् परियोजनाले सम्भव भएको हो । परियोजनाले हालै आयोजना गरेको सार्वजनिक सुनुवाइमा वडाध्यक्ष प्रेम गलामीले भने, ‘राज्यको मात्रै मुख ताकेको भए जलजलामा अझै अँध्यारो हुने थियो, सबै जलजलाबासीको जुटाइ र परिश्रमको फल चाचलाघाट हो ।’ उनले आफ्नो गाउँको विकास आफैं गर्न तत्पर हुनुपर्ने भन्दै जनताको साथ र लगानीबाटै जलजलामा विद्युत् सम्भव भएको बताए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका बागलुङ संयोजक कृष्ण गौतमले स्थानीय उपभोक्ताको प्रशंसा गरे । कार्यक्रममा ६४ लाख ६ हजार ७ सय ८० रुपैयाँबराबरको आम्दानी तथा ४४ लाख ७८ हजार ३ सय १ रुपैयाँबराबरको खर्च विवरण प्रस्तुत गरिएको थियो । स्थानीय विद्यालयका प्रधानाध्यापक, राजनीतिक दल र सामाजिक संघसंस्थाका प्रतिनिधि तथा उपभोक्ताको सहभागिता थियो ।
सार्वजनिक सुनुवाइ परियोजनाका अध्यक्ष मानसिंह पाइजाको अध्यक्षता तथा सचिव झवीन्द्र बुढाथोकीको सञ्चालनमा भएको थियो ।
२०६८ सालमा सम्पन्न १ किलोवाट क्षमताको विद्युत् परियोजनाबाट साबिक जलजला, रणसिंह किटेनी र ग्वालीचौर गाविसको सीमासम्मका ९ सय घरपरिवार लाभान्वित भएका छन् । ‘पहिले निकै कष्टकर जिन्दगी बिताइयो, अहिले त आनन्द छ,’ स्थानीय छविकला काउचाले भनिन् ।
विद्युत्सँगै सबै विद्यालयमा कम्प्युटर पुगेको सचिव बुढाथोकीले बताए । स्थानीयले गाउँमै कुटानी–पिसानी मिल चलाएका छन् भने लोक्ता उद्योग पनि सञ्चालनमा छ । बागलुङमै परिचित रणसिंहको ढुंगाखानीबाट टायल तयार गरी निकालिएको छ । परियोजनामा ७ स्थानीयले रोजगारीसमेत पाएका छन् ।
प्रत्येक घरले १५ युनिटसम्म विद्युत् खपत गरेबापत सय रुपैयाँ तिर्छन् । त्यसभन्दा बढी खपत भए प्रतियुनिट १० रुपैयाँका दरले महसुल उठाइएको बुढाथोकीले जानकारी दिए । ९ सय घरले विद्युत् उपयोग गरे पनि झन्डै ६० किलोवाट बढी भएको छ । ‘साँझमा ४५/५० किलोवाट खपत हुन्छ, दिउँसो त ४० किलोवाट पनि हुँदैन’, उनले भने । गाउँपालिकाभित्रका अन्य स्थानमा विद्युत् पर्याप्त नभए पनि जलजलामा झन्डै ६० किलोवाट खेर गइरहेको छ । झन्डै ३ करोड लगानीमा उत्पादित विद्युत् पूर्ण खपत नहुँदा नाफामा जान नसकेको सरोकारवालाले बताएका छन् । भेलाबाट सो परियोजनालाई सहकारीमा लैजाने सहमति गरिएको र आवश्यक प्रक्रिया अगाडि बढाइएको सचिव बुढाथोकीले जानकारी दिए ।
गत वर्ष केन्द्रीय लाइन विस्तारका लागि भन्दै मध्यपहाडी लोकमार्ग क्षेत्रमा विद्युत् पोल र तार टाँगिए पनि हालसम्म बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा केन्द्रीय विद्युत् पुग्न सकेको छैन ।














































































































































































































