१० कार्तिक २०८३, सोमबार

 

अरब क्रान्तिमा मैले जे गुमाएँ

नादा बाक्री

फेब्रुअरी, २०१२ को एउटा चिसो र ओसिलो साँझ। छोरा मलिकलाई लिएर म दक्षिणी टर्कीको अदानामा उत्रिएँ। लेबनानको राजधानी बेरुतबाट त्यहाँ पुग्न हामीलाई लामो समय लागेको थियो। हामीलाई अझै दुई घण्टा गाडी चढेर सिरियाको सीमानजिक अन्ताक्या पुग्नु थियो। जहाँ हामीले मेरा पति तथा मलिकका पिता एन्थोनी सादिदलाई भेट्ने तय भएको थियो।

त्यस दिनसम्म म पत्रकार थिएँ र एक दशकदेखि मध्यपूर्वमा काम गरिरहेकी थिएँ। तीमध्ये कतिपय दिन मेरा लागि जीवनकै सबैभन्दा उल्लासमय थिए। एन्थोनी र म दुवै अरब क्रान्तिबारे रिपोर्टिङ गरिरहेका थियौँ। तर, त्यो आन्दोलनबाट म र अरू करोडौँ अरबजनले आशा गरेको कुनै परिवर्तन प्राप्त भइसकेको थिएन। यद्यपि, हामीलाई अझै आन्दोलनमा विश्वास थियो।

त्यो रात अन्ताक्यामा मेरा सारा आशा चकनाचूर भए। मैले पति गुमाएँ। तुरुन्तै मैले पत्रकारिता छाड्ने निर्णय गरेँ।

मैले एन्थोनीलाई पहिलो पटक सेप्टेम्बर, २००६ मा भेटेकी थिएँ। हेजबुल्लाहले दक्षिणी बेरुतमा आयोजना गरेको र्‍यालीमा उनी र म रिपोर्टिङका लागि पुगेका थियौँ। अमेरिकाको नेतृत्वमा सन् २००३ मा इराकमाथि आक्रमण भएदेखि नै मैले मध्यपूर्वमाथि एन्थोनीका रिपोर्टिङ पढिरहेकी थिएँ। उनी अमेरिकामा जन्मेका लेबनानी अभिभावकका सन्तान थिए। म गृहयुद्ध चलिरहँदा लेबनानमा हुर्किएँ र पत्रकार बन्ने निर्णय गरेँ।

सन् २००६ सम्ममा मैले आफ्नो देशको विध्वंस, पुनःस्थापना, अस्थिरता र अनिश्चितता देखिसकेकी थिएँ। औपचारिक रूपमा लेबनान युद्ध सन् १९९० मै सकिएको थियो। तर, देश पूरै विभाजित रह्यो। फेब्रुअरी २००५ मा प्रधानमन्त्री रफिक हरिरीको हत्यापछि विध्वंशको नयाँ चक्र सुरु भयो। त्यसबेला म लेबनानको अंग्रेजी भाषाको पत्रिका ‘डेली स्टार’मा काम गरिरहेकी थिएँ। हरिरीको हत्या भएपछि कार बम विस्फोट भएको ठाउँमा म पुगेँ। त्यहाँको दृश्य भयावह थियो।

हरिरीको हत्याको आरोप सिरिया र हेजबुल्लाहमाथि लगाइयो। जसले गर्दा लेबनान दुई पक्षमा विभाजित भयो। एक पक्षलाई सिरिया र इरानको समर्थन थियो भने अर्कोलाई हरिरीसमर्थक र पश्चिमाको शक्तिको। फलस्वरूप १७ महिनासम्म राजनीतिक गतिरोध र राजनीतिक नेताहरूको लगातार हत्या भइरह्यो।

सन् २००६ को जुलाईमा हेजबुल्लाह र इजरायलबीच ३३ दिने युद्ध भयो। त्यही युद्धमा ‘दिव्य विजय’ हात पारेको भन्दै हेजबुल्लाहले आयोजना गरेको र्‍यालीमा मेरो र एन्थोनीको भेट भएका थियो। त्यो युद्धमा १२ सय लेबनानी मारिएका थिए।  इजरायली हवाई आक्रमणबाट दक्षिणी भेगमा थुप्रै गाउँ ध्वस्त भएका थिए भने राजमार्ग र पुल भत्केका थिए।

एन्थोनीसँग मेरो सम्बन्ध अघि बढेसँगै लेबनान अर्को गृहयुद्धको सँघारमा पुग्यो। शान्तिको सारा आशा गायब हुन थाल्यो। म ‘द न्युयोर्क टाइम्स’का लागि स्ट्रिन्जर बनेकी थिएँ। आगामी दिनमा मेरो काम द्वन्द्वमा फस्न सक्ने डर मलाई थियो।

म आफ्नो कामलाई माया गर्थें। तर, सन् २००५ देखि २००८ को बीचमा थुप्रै पटक मैले अरू नै पेशा अपनाएको भए हुन्थ्यो जस्तो लाग्ने गथ्र्यो। यो अवधिमा मैले थुप्रै मृत्यु देखेँ। सन् २००८ मा त झन्डै आफैँ मारिइनँ।

गृहयुद्धकै झल्को दिने गरी सडकमा लडाइँ भइरहेको थियो। हेजबुल्लाह सदस्य मेसिनगन लिएर सरकारसमर्थकसँग भिड्न बेरुतका गल्लीमा निस्किए। निसानेबाजहरू छतमा उक्लेर निसाना लगाउन थाले। जताततै जलेका कार र कुडा कर्कट देखिन्थ्यो। चार दिनको लडाइँमा कम्तीमा २९ जना मारिए, १९ जना घाइते भए।

१० मे २००८ मा द लस एन्जलस टाइम्सका लागि काम गर्ने साथी रइद राफेईसँगै म एक सुन्नी युवाको अन्त्येष्टिमा गएकी थिएँ। ती व्यक्ति दुई दिनअघि स्नाइपरको गोलीबाट मारिएका थिए। उनको हत्या सिया समूहले गरेको सुन्नीहरूको आरोप थियो। मलामीको समूह चिहानतर्फ अघि बढ्यो।

तर, बाटोमै रहेको एक पसलका सिया मालिकले सटर बन्द गर्न नमानेपछि झगडा सुरु भयो। मलामीहरूले ढुंगाले हानेर उनको पसल तोडफोड गर्न थालेपछि ती व्यक्तिले बन्दुक झिकेर गोली चलाए। म तत्काल घस्रेर फोहोरको कन्टेनरपछाडि लुक्न गएँ।

रइद पनि लुके। केही बेरमा शान्त भएपछि उठ्दा केही क्षणअघि मसँगै उभिएका दुई व्यक्ति रगतको आहालमा लडिरहेको देखेँ। रइद तिनको तस्बिर लिइरहेका थिए। मारिनेहरूको नाम अलि मास्री र मुसा जुकी थियो। उनीहरूको अर्थहीन मृत्यु मेरो स्मृतिबाट अझै मेटिएको छैन।

मे सकिने बेलासम्म म बेरुतसँग अघाइसकेकी थिएँ। निसास्सिइरहेकी थिएँ। त्यसैले म न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटीमा पत्रकारिता पढ्न जाने भएँ। जानुअघि एन्थोनीले मलाई विवाह प्रस्ताव राखे। मैले स्वीकार गरेँ।

पढाइ सकेपछि जुन २००९ मा म वासिंगटन पोस्टका लागि रिपोर्टिङ गर्न इराकको बग्दाद गएँ। नयाँ काम हुनाले चिन्तित थिएँ। आफूले लेखेको कुनै कुरा कसैले पढ्ला कि नपढ्ला भनेर मलाई डर लाग्थ्यो। एन्थोनीसँग मेरो बिहे भएको एक वर्ष बितिसकेको थियो। तर, हामी एउटै शहरमा बस्न पाएका थिएनौँ। उनी मेरो ब्युरो चिफ थिए र मध्यपूर्व हेर्ने सबैभन्दा सफल संवाददाता मानिन्थे।

उनी असल पार्टनर थिए। हामी मिलेर रिपोर्टिङको योजना बनाउँथ्यौँ। अरबी उद्धरणहरूको सबैभन्दा उत्तम अंग्रेजी अनुवाद गर्ने प्रयास गथ्र्यौं र फुर्सदमा भेनिला आइसक्रिम खाँदै अमेरिकी टेलिभिजन सो हेर्ने गथ्र्याैं। कहिलेकाहीँ  बिर्सिन्थ्यौँ, हामी उथलपुथलमा रुमल्लिएको अर्को मुलुकमा बसिरहेका छौँ।

जनवरी २०१० मा विदेशी पत्रकार र व्यापारी बस्ने होटललाई लक्ष्य गरेर बग्दादमा एक मिनेटभित्र तीन वटा बम विस्फोट भए। तेस्रो बम पड्किँदा हाम्रो घरको झ्यालको सिसासमेत फुट्यो। वासिंगटन पोस्टको भवनअगाडि रहेको हाम्रो होटेलमा बम पड्केको थियो।

एन्थोनी र मैले भने एक महिनाअघि नै वासिंगटन पोस्ट छोडेर न्युयोर्क टाइम्समा काम गर्न थालेका थियौँ। म सात महिनाको गर्भवती थिएँ। त्यसैले बम पड्केको स्थानमा पहिलो पटक जान मलाई मन लागेन। नयाँ स्टोरीभन्दा मातृत्वप्रति ठूलो जिम्मेवारी महसुस गरेँ।

सन् २०१० को अन्त्यमा एन्थोनी न्युयोर्क टाइम्सको बेरुत ब्युरो चिफ बने र हामी भर्खर जन्मेको छोरा मलिकसहित त्यहाँ बस्न थाल्यौँ। इराकबाहेक बेरुतसहित अरब विश्वका बाँकी स्थानको अवस्था स्थिर थियो।

तर, १७ डिसेम्बर २०१० मा प्रहरीसँग विवाद भएपछि ट्युनिसियाको एउटा गाउँमा ठेलामा फलफूल बेच्ने एक व्यक्तिले आफैँलाई आगो लगाए। विद्रोह सुरु भयो र त्यो बिस्तारै इजिप्ट, लिबिया, बहराइन, यमन र सिरियासम्म फैलियो। थुप्रै घटनाबारे मैले रिपोर्टिङ गरेँ। कामका लागि बेरुत छोड्नुपर्दा हरेक पटक फर्केर मलिकलाई हेर्न पाउँदिनँ कि भनेर म डराउँथेँ।

४ फेब्रुअरी २०११ मा म गाडी हाँकेर दमास्कस पुगेँ। संसद् भवनअगाडि प्रदर्शनको तयारी थियो। त्यसैले म त्यहाँ पुगेकी थिएँ। तर, त्यहाँ प्रदर्शन गर्न कोही पनि आएन। त्यही दिन मलाई एक सिरियाली राजनीतिक कार्यकर्ताले भने, ‘सिरियामा शासन परिवर्तन सजिलो छैन। त्यस्तो हुने यो अन्तिम मुलुक हुनेछ।’ मैले उनलाई विश्वास गर्न चाहिनँ।

सात दिनपछि एन्थोनीले मलाई कायरोको तहरिर चोकबाट फोन गरे। राष्ट्रपति होस्नी मुबारकको सत्ता ढलेको थियो र उनी त्यो क्षण मसँग बाँड्न चाहन्थे।

कहिलेकाहीँ मलाई लाग्छ, एन्थोनीको मृत्यु अरब क्रान्तिको अनिच्छित परिणाम थियो।

फेब्रुअरी २०१२ मा विद्रोहीहरूसँग अन्तर्वार्ता लिन उनी अवैध बाटो हुँदै सिरिया गए। तस्करहरूले उनलाई घोडा चढाएर पहाडी सीमा कटाए। एन्थोनीलाई दम थियो र घोडासँग पनि एलर्जी थियो। तैपनि उनी गए।

अन्तिम पटक मैले उनीसँग १४ फेब्रुअरी, २०१२ मा कुरा गरेँ। उनी उत्तरी सिरियामा थिए र स्याटलाइट फोनबाट मलाई भ्यालेन्टाइन्स डे को शुभकामना दिए। उनले दुई दिनभित्र सिरिया छोड्ने बताएका थिए।

मध्यरातपछि मोबाइलको घण्टीले म ब्युँझिएँ। न्युयोर्क टाइम्सका कार्यकारी सम्पादक जिल अब्रामसनको फोन थियो। ‘एन्थोनीलाई दमले घातक आक्रमण गर्‍यो,’ उनले भनिन्। उनी के भन्न खोजिरहेकी थिइन्, मैले धेरै बेरपछि मात्रै बुझेँ।

रातभरि बाथरुमको भुइँमा लम्पसार परेर रोइरहेँ। म चिच्याउन चाहन्थेँ तर सुतिरहेको मलिकलाई तर्साउन चाहन्नथेँ।

आफ्नो पतिको मृत्युबारे लेखिएको पुस्तक ‘द इयर अफ म्याजिकल थिंकिङ’ मा जोन डिडियन भन्छिन्, ‘कसैलाई गुमाएको मान्छे नांगो देखिन्छ। किनभने, उनीहरू आफूलाई अदृश्य ठान्छन्।’ मुटु गह्रौँ भएका बेला अदृश्य बन्दा सजिलो हुन्छ। एन्थोनीको मृत्युपछि म त्यस्ता ठाउँमा जान थालेँ, जहाँ मलाई कसैले चिन्दैनथ्यो।

यो सात वर्षअघिको कुरा थियो। तैपनि कहिलेकाहीँ मलाई टर्कीको त्यो रात ताजैजस्तो लाग्छ। मैले पत्रकारिता त्यागेँ। बेरुतको घर छोडेँ र हजारौँ माइल टाढा सरेँ, जहाँ मलाई कसैले चिन्दैन।

मातृत्वले मलाई गलत निर्णय लिनबाट बचायो र कुनै जाँगर नहुँदा पनि ओछ्यानबाट उठ्न बाध्य बनायो। यो क्रममा मैले आफैँलाई चिन्न छोडेँ। आफ्नो सन्तुलन गुमाएँ। पत्रकारिता र मध्यपूर्वले मलाई आफ्नो क्षति स्मरण गराइरहन्थ्यो। त्यसैल दुःख मनाउ गर्न र जिउँदो महसुस गर्न पनि यी दुईबाट टाढा हुन जरुरी थियो।

एन्थोनीको मृत्युअघि उनले इदलिबबाट मलाई भनेका कुरा सम्झिरहन्छु। सिरियाली क्रान्ति किन सफल हुँदैन भन्ने कारणहरूको सूची उनले मलाई सुनाएका थिए। उनको मृत्युपछि उनी सही भएको पुष्टि भयो।

अरब क्रान्तिले लोकतान्त्रिक मुलुकमा स्वतन्त्रतापूर्वक बाँच्ने अरबहरूको सपना साकार पार्न सकेन। बरु यसले मलगायत अरूलाई अर्थहीन क्षति भोग्न बाध्य बनायो।

ठूला घटना हुँदा हामी त्यसमा घुल्छौँ। समय बितेपछि बिस्तारै त्यसलाई बिर्सिन्छौँ। तर, जसले यस्ता घटनामा आफ्ना प्रियजनलाई गुमाउँछन्, तिनीहरू चोट बोकेर बाँच्न र त्यो चोटबाट परिभाषित हुन विवश हुन्छन्।

(‘द न्युयोर्क टाइम्स’बाट। बाक्री न्युयोर्क टाइम्सकी पूर्वसंवाददाता हुन्। यो आलेख ‘आवर विमिन अन द ग्राउन्ड: एस्सेज बाई अरब विमिन रिपोर्टिङ फ्रम दी अरब वल्र्ड’ पुस्तकमा संकलित छ।) सम्पूर्ण साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung