नेपाली बैंकको एटिएम प्रणाली नै ह्याक गरेर पैसा लुट्ने चिनियाँ गिरोहका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार राति सु लुसिङ नामका चिनियाँलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको हो । लुसिङलाई विशेष निगरानीका आधारमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
यसअघि शनिबार प्रहरीले ह्याकर समूहका पाँच जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेई, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन छन् । प्रहरीले उनीहरूलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
उनीहरूका साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड ११ थानसमेत बरामद गरेको छ ।
प्रहरीका अनुसार उनीहरूले नबिल बैंकको दरबारमार्गमा रहेको एटिएम, हिमालयन बैंकको ठमेलमा रहेको एटिएम र प्रभु बैंकको कमलपोखरीमा रहेको एटिएमबाट रकम निकालेका थिए ।













































































































































































































