४ श्रावण २०८३, सोमबार

 

एटीएम ह्याकिङ प्रकरण : मनी एक्सचेन्जका तीन नेपाली पक्राउ

चिनियाँ ह्याकर समूहलाई एटीएम ह्याकपछि रकम साटिदिने ३ जना नेपाली नागरिकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ठमेलको डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने र नेपालय मनी एक्सचेन्जका सञ्चालहरु रोशन श्रेष्ठ तथा म्यानेजर रेवती दवाडी रहेको प्रहरीले जनाएको छ । उनीहरुले चारजना चिनियाँलाई २८ हजार ८ सय ६२ अमेरिकी डलर सटही गरिदिएका थिए।

शनिबार बिहानदेखि एटीएमबाट पैसा निकाल्न थालेका चार जना चिनियाँले आलोपालो गरी ठमेलका यी दुई मनि एक्सचेञ्जरमा पुगेर पैसा सटही गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका डीएसपी होविन्द्र बोगटीले दुवै मनि एक्सचेञ्जरले गैरकानुनी रुपमा नेपाली रुपैयाँ सटही गरेकाले अनुसन्धानका लागि पक्राउ गरिएको बताए। साथै उनीहरुलाई एटीएम ह्याक गरी पैसा निकालेको जानकारी भएर पनि पैसा साटेर चिनियाँलाई भगाउनमा सहयोग गरेको प्रहरीको दावी छ।

यस अघि प्रहरीले शनिबार ह्याकर समूहका पाँच जना चिनियाँ नागरिकलाई प्रकाउ गरेको थियो। उनीहरुकै बयानका आधारमा सोही प्रकरणमा संलग्न थप एक जनालाई प्रहरीले आइतबार विमानस्थलबाट पक्राउ गरेको थियो।

हालसम्म एटीएम ह्याक प्रकरणमा ९ जना पक्राउ परिसकेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung