स्वतन्त्रता र राजनीतिक अधिकारप्राप्तिको संघर्षबाट सुरु भएको नेपाली विद्यार्थी आन्दोलनले आजको मितिसम्म आइपुग्दा विशाल बलिदान गरेको छ । त्यसैको बलमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनेको छ ।
हिजो आधारभूत मानवअधिकारबाट वञ्चित नेपाली समाजमा आज विश्वका कैयन विकसित र सभ्य भनिने मुलुकको भन्दा बढी अधिकार जनताले पाएका छन् ।
हुकुमी जहानियाँ राणाशासन, एकदलीय पञ्चायती प्रणाली, पटक–पटक शाही कू वा निरंकुश राजतन्त्रात्मक शासन व्यवस्थाविरुद्ध क्रान्तिको शंखघोष गरी ठूलो बलिदानपूर्ण संघर्ष र निष्ठापूर्वक त्यसलाई सफल पारेको दृष्टान्त हाम्रा सामु ताजै छ ।
तत्कालीन नेपाल प्रजापरिषद् सदस्य तथा त्रिचन्द्र क्याम्पसका विद्यार्थी अमर सहिद गंगालाल श्रेष्ठको सहादत र उहाँको रगतबाट जन्मेको असंगठित विद्यार्थी आन्दोलनले राणाशासनविरुद्ध लड्ने साहस देखायो ।
२००४ को जयतु संस्कृतम्लगायत नेपाल र भारतमा स्थापित केही विद्यार्थी आन्दोलनले विद्यार्थी अधिकार र आम स्वतन्त्रताका विषयमा आवाज संगठित गर्दै २००६ सालमा स्थापित अखिल नेपाल विद्यार्थी फेडेरेसन (अनेविफे) को स्थापना भयो । यो नै नेपालको पहिलो विद्यार्थी संगठन थियो ।
अनेविफेदेखि आजको मितिमा अस्तित्वमा रहेका अनेरास्ववियु, नेविसंघ, नेक्राविसंघलगायत विभिन्न संघसंगठन र सबै विद्यार्थीको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियनले आ–आफ्नो भूमिका निर्वाह गर्दै आएका छन् ।
इतिहासमा राजनीतिक दललाई प्रतिबन्ध लगाउँदा पार्टीकै भूमिकामा समेत विद्यार्थी संगठनले आन्दोलन गरेका थिए । विगत फर्केर हेर्दा विद्यार्थी आन्दोलनले आजसम्मको ठूलो समय राजनीतिक व्यवस्था परिवर्तनमै खर्चेको छ ।
प्रजातन्त्रको स्थापना–२००७, झापा विद्रोह–२०२८, जनमतसंग्रह–२०३६, बहुदलीय व्यवस्था–२०४६, महान् जनयुद्ध–२०५२, संघीय गणतन्त्र स्थापना–२०६२–६३ र संविधानसभाबाट नयाँ संविधान निर्माण–२०७२ । यी सबै उपलिब्धमा विद्यार्थी आन्दोलनले महत्त्वपूर्ण भूमिका खेलेको छ । यसका लागि हाम्रा कैयन अग्रजले सहादत प्राप्त गरे । थुप्रै अंगभंग हुन पुगे । केही आजको मितिमा पनि बेपत्ता छन् । धेरैले आफ्नो सम्पूर्ण जीवन राजनीति–समाजसेवामै सुम्पेका छन् । विद्यार्थी आन्दोलनको जगमा नै आज हामी यो ठाउँमा पुगेका हौं ।
यो आन्दोलनको बिरासतलाई नजरअन्दाज गर्ने कुचेष्टा कहीँ–कतैबाट भए त्यो दिवास्वप्न मात्र हुनेछ । हो, हाम्रो भूमिका केही कमजोर बनेको छ । तर, हिजो र आजको विद्यार्थी आन्दोलनको जिम्मेवारी निकै फरक छ । हिजो हामी अधिकारप्राप्तिको लडाइँमा थियौं । आज सबै अधिकार प्राप्त भएको स्थितिमा छौं । मात्रै अबको बाटो विकास र समृद्धिको हो ।
अबको हाम्रो कर्म पनि यही बाटोमा केन्द्रित हुनुपर्छ । विकास र समृद्धिको बलियो आधार नै शिक्षा हो । शिक्षाविना समृद्धि सम्भव छैन । विद्यार्थी आन्दोलनको प्रमुख एजेन्डा शैक्षिक प्रणालीमा सुधार ल्याउनु हो । त्यस कारण अबको विद्यार्थी आन्दोलनले प्रगतिशील शैक्षिक प्रणालीमार्फत मुलुकलाई विकसित र समृद्ध बनाउनुपर्छ । आन्दोलन रचनात्मक हुनुपर्छ । ढुंगामुढा गर्ने, टायर बाल्ने, बन्द–हडताल गर्ने, शैक्षिक संस्थामा तालाबन्दी र तोडफोड हाम्रो मिसन कदापि हुनुहुँदैन ।
हाम्रा अग्रजले यो आन्दोलनलाई आमनागरिकको आशा, विश्वास र भरोसा बनाएका थिए । व्यवस्था परिवर्तनका हरेक चरणमा जनताको सच्चा पहरेदार, देशभक्तिपूर्ण कुशल अभियान, सामाजिक–सांस्कृतिक रूपान्तरणको मियो र शैक्षिक सुधारको सतिसाल बनेको विद्यार्थी आन्दोलन कुनै पनि हालतमा डगमगाउने वा बाटो बिराउने होइन, अविच्छिन्न अगाडि बढ्नुपर्छ ।
मुलुकलाई आर्थिक र सामाजिक रूपान्तरण नगरी हामी समानता र न्यायको प्रत्याभूति गराउन सक्दैनौं । त्यसका लागि माटो सुहाउँदो मौलिक शिक्षाप्रणाली आवश्यक छ । हामी प्राकृतिक स्रोतसाधनले निकै धनी मुलुकमा छौँ । जल, जमिन, जंगल, जडीबुटी, पर्यटन, संस्कृति, मौलिक सभ्यता हाम्रा अमूल्य निधि हुन् ।
यिनीहरूको भरपूर प्रयोग गर्ने मोडेलको रोजगारमूलक, सीपमूलक, प्राविधिक तथा व्यावहारिक शिक्षा आजको आवश्यकता हो । अबको विद्यार्थी आन्दोलन यी सवालमा केन्द्रित हुनुपर्छ । तब मात्रै हामी समाजवादको गन्तव्यमा पुग्न सक्छौँ र हाम्रो शिक्षाले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्छ । हाम्रा विश्वविद्यालय सुधारौं । परम्परागत शिक्षाप्रणालीको ज्ञानले विद्यार्थी सक्षम बन्न सक्दैनन् ।
सिकाइ सहभागितामूलक हुनुपर्छ । यो भूमिका अबको हाम्रो पुस्ताले खेल्न सक्नुपर्छ । इतिहासले हामीलाई सुम्पेको जिम्मेवारी पनि यही हो । सम्पूर्ण जालझेल, कालाबजारी, गुटबन्दी, भ्रष्टाचारको चंगुलबाट मुक्त रही, विश्व–परिवेशको समीक्षा गरी निष्ठा र सत्कर्मको बाटोमा विद्यार्थी आन्दोलनलाई गति प्रदान गरौं । विद्यार्थी आन्दोलनको सवालमा बजारमा जे–जस्ता अफवाह ओकलिँदै छन्, यो स्थिति किन सिर्जना हुँदै छ, समीक्षा गरौं । विद्यार्थीका एजेन्डा नभुलौं ।
विद्यार्थी आन्दोलनको औचित्यबारे पार्टीका जिम्मेवार नेताहरू प्रश्न गरिरहेका छन् जसको राजनीतिक करियर यही आन्दोलनबाट स्थापित भएको थियो । के विद्यार्थी आन्दोलनको चरित्रमा बदलाब आएको हो ? के हामी युगीन परिवर्तनसँगै चल्न वा गति लिन नसकेका हौं ? समीक्षा गरौं । त्रुटि कहाँबाट हुँदै छ, ठोस कार्ययोजनासहित अगाडि बढाऊँ ।
पुनः विद्यार्थी आन्दोलन र यसको औचित्य आमविद्यार्थी र जनसमुदायलाई बोध गराऊँ । इतिहासको बिरासत बोक्ने जिम्मा हाम्रो हो । त्यसका लागि हामी हरदम तयार छौँ ।
पन्त, पूर्व अनेरास्ववियु शैक्षिक विभाग प्रमुख



















































































































































































































