१४ कार्तिक २०८३, शुक्रबार

 

घर छैन, घाट पनि छैन

बागलुङको गलकोटस्थित गौंदीखोलाको तिरमा अस्थायी रूपमा बसेको मुस्लिम बस्ती

आफ्नो घर नभए भाडामा बस्न सकिन्छ । तर घाट भाडामा पाइँदैन । सबैजसो समुदायका आफ्नै स्थायी घाट हुन्छन् । गलकोट नगरपालिकाका हटिया र हरिचौरका मुस्लिम समुदाय भने घाट नपाएरै सास्ती खेपिरहेका छन् । समुदायमा कसैको मृत्यु भए कोसौं टाढा पु¥याउनुपर्ने बाध्यता छ । उनीहरूसँग घर पनि छैन । तर, त्योभन्दा बढी पीडा घाट नहुनुमा छ ।

अस्थायी बसोबासी भएकाले अहिलेसम्म उनीहरूले स्थानीय रूपमा घाट नपाएका हुन् । ५० किमी टाढा सदरमुकामस्थित कालीगण्डकी नदीमा ल्याएर अन्तिम संस्कार गर्दै आएका छन् । गाडीमा शव बोक्नुपर्ने र आफन्तहरू जिप चढेर आउनुपर्दा एक जनाको अन्तिम संस्कार गर्न ५० हजारभन्दा बढी खर्च हुने गरेको उनीहरूको गुनासो छ ।

तोकिएको भाडा नदिएसम्म शव बोक्न गाडी नपाउने, मलामीले पनि नियमितभन्दा दोब्बर भाडा तिर्नुपर्ने भएपछि खर्च बढेको स्थानीय रहमत हकिमले बताए । ‘वर्षौंदेखि हामीले घाट मागेको, कसैले पत्याएनन्,’ उनले भने, ‘खोलाछेउ, पाखो जे भए पनि हुन्छ भनेका हौं तर हामीलाई वास्तै गरिएन ।’ उनीहरूले पोखरा–बागलुङ राजमार्गको मालढुंगानजिकै ल्याएर अन्तिम संस्कार गर्ने गरेका छन् ।

कालीगण्डकी नदीमा ल्याए पनि व्यवस्थित घाट छैन । हिन्दूहरूले जलाउने भएकाले दुर्गन्ध हुँदैन । मुस्लिमले शव गाड्ने चलन छ । हिउँदमा गाडेको शव बर्खामा बाढीले उतारिदिँदा पानीमा दुर्गन्ध मिसिने गरेको छ । आर्थिक रूपमा सम्पनहरूले शव गाडेपछि सिमेन्ट लगाएर छाड्छन् । विपन्नहरूले ढुंगाले छोपेर छाड्दा बर्खामा शव बाहिर निस्कने गरेको हो । गलकोटमा ३३ वर्षअघि मुस्लिमहरू गएर बस्न थालेका हुन् । हटिया बजारमा मात्र २० घर मुस्लिम छन् । आफ्नै जग्गा नभएकाले खोलाछेउ छाप्रो बनाएर बसेका छन् ।

एउटै छाप्रोमा २ देखि ३ परिवारसम्म बस्छन् । प्रत्येक परिवारमा ३ देखि ७ जनासम्म बालबालिका छन् । ३० जना बालबालिकाका लागि छाप्रोमै बारेर मदरसा बनाएका छन् । मदरसामा एक शिक्षक राखिएको छ । मदरसा व्यवस्थापन र परिचयपत्रलगायत काममा नगरपालिकाले सहयोग गरेको छ । ‘हामीले परिचयपत्र बनाएर चाडपर्वलगायतमा सहयोग गरेका छौं,’ गलकोट–३ का वडाध्यक्ष वीरजंग भण्डारीले भने, ‘सिमानाको हिसाबले अर्कै वडामा छन् तर नजिक भएकाले हामीले बेलाबेला सहयोग गरेका हौं ।’ घाटका लागि नगरपालिकाभित्र सार्वजनिक जमिन नभएकाले व्यवस्था गर्न नसकिएको उनले बताए ।

नगरपालिकाले फोहोर व्यवस्थापनका लागि पनि जग्गा खोजिरहेको छ । उक्त जग्गा व्यवस्थापन भए मुस्लिम समुदायको मृत्युसंस्कारका लागि पनि जग्गा दिन सकिने नगरप्रमुख भरत शर्मा गैह्रेले बताए । ‘उहाँहरूको समस्याबारे हामी पनि गम्भीर छौं तर नगरको फोहर व्यवस्थापनका लागि समेत जग्गा पाउन सकिएको छैन,’ उनले भने, ‘नगरपालिकाकै भवनका लागि जग्गा नभएर यो वर्ष घडेरी किन्न २ करोड विनियोजन गरिएको छ ।’

तीन दशकदेखि यहीँ बस्दै आएकाले मुस्लिम परिवारहरूको अन्यत्र पनि घरजग्गा नभएको मदरसा व्यवस्थापन समितिका सदस्य कमालदिन मियाले बताए । उनका अनुसार पुख्र्यौली थलो भने बलेवास्थित अमलाचौर हो । अधिकांशले छाता बनाउने, चुरा बेच्ने र कस्मेटिक सामानको खुद्रा व्यवसाय गर्दै आएका छन् । खोलाछेउ बसेकाले सरसफाइमा समस्या भएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung