केही दिनपहिलासम्म घण्टौं पैदल यात्रा गरेर पँधेरो पुग्ने बागलुङ नगरपालिका–४ पाखाथरकी हेमन्तकुमारी सापकोटा घरछेउकै धारोमा पानी भर्न पाउँदा कम्ता खुसी थिइनन् । उनलाई आफ्नै गाउँका छिमेकी मिलेर बनाएको खानेपानी योजनाले यस्तो खुसी दिएको हो । ‘
पाखाथरका केही अगुवाको सक्रियतामा सबै गाउँले मिलेर खानेपानी ल्याएपछि ५० परिवारलाई सहज भएको छ। बागलुङ बजारबाट नजिकैको बस्ती भए पनि यहाँ लामो समयदेखि खानेपानी अभाव थियो ।
अहिले गाउँमै राइला खानेपानी आयोजना सञ्चालनमा आएको हो । नगरपालिकाले दिएको २० लाख रुपैयाँमा प्रत्येक घरबाट ४५ दिन श्रमदान र घरघरै २० हजार रुपैयाँ संकलन गरेर पानी ल्याइएको उपभोक्ता समितिकी सचिव सीता सापकोटाले बताइन् । गाउँमा खानेपानी आएपछि बिहानै उठेर जंगलका कुवा र पँधेरा पुग्नेहरूको समस्या हटेको छ। गाउँभन्दा धेरै तल्लो भूभागमा रहेको मुहानबाट पानी पु¥याइएको छ । लिफ्ट प्रविधिमार्फत ३ सय मिटर माथि पानी लगेर वितरण गरिएको हो।
बागलुङ नगर खानेपानी आयोजनाले बजारभित्र वितरण गरे पनि उपल्लो स्थानमा लैजान सकेको थिएन । गाउँलेले आफैंले बनाएको योजनाबाट नगर खानेपानीले लिने शुल्कको तुलनामा ५० प्रतिशत सस्तोमा खानेपानी पाएका छन्। आयोजना नियमित मर्मत गर्न एक जना हेरालु पनि राखेका छन् । सदरमुकाममा वितरण भएको पानी ८ हजार लिटरसम्म प्रयोग गर्दा २ सय तिर्नुपर्छ भने यो आयोजनाले १५ हजार लिटर प्रयोग गरेपछि मात्र २ सय रुपैयाँ शुल्क तोकेको छ । उक्त रकमबाट नियमित मर्मतसम्भार कोष बनाउने र हेरालुलाई तलब दिने योजना बनाइएको सापकोटाले बताइन् ।
‘गाईभैंसीलाई पानीकै नजिक पाल्ने र घरमा गाग्रीमा खेपेको पानीले चलाएका थियौं, अहिले चाहिएपछि मात्र गाग्री थापिन्छ,’ सापकोटाले भनिन्, ‘कतिपय घरले ड्रम र गाग्री थन्क्याएका छन् ।’ घरघरमै पानी खसेको दुई महिना मात्र भयो । यो आयोजनाको औपचारिक उद्घाटनसमेत भएको छैन । नगरप्रमुखबाटै गराउने गरी तिथिमिति मिलाउने तयारी गरिएको कोषाध्यक्ष सीता सापकोटाले बताइन् । पानी अभावका कारण गाईभैंसी पाल्न नमान्ने गाउँलेले अब निर्धक्क भएर पाल्न सक्ने अवस्था बनेको स्थानीय हरिनारायण उपाध्यायको भनाइ छ ।



















































































































































































































