१४ कार्तिक २०८३, शुक्रबार

 

गण्डकी प्रदेश : भ्रष्टाचार हुने जिल्लाको सूचीमा कास्की पहिलो र पर्वत दोस्रो

आर्थिक वर्ष २०७५/७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा गण्डकी प्रदेशका जिल्लाहरुबाट परेका उजुरीका आधारमा बढी भ्रष्टाचार हुने जिल्लाको सूचीमा कास्की पहिलो र पर्वत दोस्रो स्थानमा परेका छन्। तेस्रो स्थानमा तनहुँ र त्यसपछि क्रमशः स्याङ्जा, लमजुङ, बागलुङ, म्याग्दी, गोरखा, मुस्ताङ, नवलपुर छन्।

गत आर्थिक वर्षमा कास्कीमा मात्रै ४ सय २७ भ्रष्टाचारका उजुरी परेका थिए। प्रदेशभरि कूल ८ सय ३२ उजुरी दर्ता भएकामा ५ सय ४५ उजुरी फर्छ्यौट भइसकेको आयोगले जनाएको छ।

आयोगका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार जिल्लाबाट स्थानीय तहले नदीजन्य वस्तुको निकासी तथा जथाभावी दोहन, दोहोरो-तेहोरो भुक्तानी र बिनाकाम भुक्तानी गर्ने, घर नक्सा तथा बाटो, करारमा कर्मचारी नियुक्ति गर्दा अनियमितता गरेको, जथाभाबी भत्ता सुविधा लिने गरेकोलगायतका उजुरी कार्यालयमा परेका छन्।

उनका अनुसार अन्य उजुरीहरुमा उपभोक्ता समिति गठन प्रक्रियामा आफू अनुकूल व्यक्ति छनोट गरेको, सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको, राजस्व छली तथा नियमित बैंक दाखिला नगरेको पनि छन्।

त्यस्तै भौतिक पूर्वाधारतर्फ आर्थिक वर्षको अन्त्यमा काम गर्ने, बढी सामान खरिद गर्ने, लागत स्टिमेट तयारीमा बदनियतपूर्ण तरिकाले गर्ने, नक्कली बिल भर्पाइ बनाई भुक्तानी दिने तथा ठेकेदार र प्राविधिकसँग अवाञ्छित गतिविधि गर्ने र हिस्सेदारी खोज्नेजस्ता विषयमा आयोगमा उजुरी परेको जनाइएको छ। त्यसैगरी शिक्षा, स्वास्थ्यतर्फ भवन निर्माण, शौचालय निर्माण, नक्कली प्रमाणपत्र, विद्यालयको जग्गा बेचबिखनलगायतका उजुरी आयोगमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung