भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अहिलेसम्म प्राप्त उपहार अनलाइनबाट लिलाम बिक्री गरिने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार करिब २ हजार ७ सय ७२ उपहार लिलामीबाट प्राप्त आम्दानी ‘नमामि गंगे’ परियोजनालाई दिइने भएको छ ।
अनलाइनमा १२ सेप्टेम्बरबाट उपहार लिलामीमा राखिने भएको छ । भारतका केन्द्रीय संस्कृतिमन्त्री प्रह्लाद पटेलले बुधबार सञ्चारमाध्यमलाई यसबारे जानकारी गराएका हुन् ।
उनका अनुसार उपहारको मूल्य न्यूनतम २ सय रुपैयाँदेखि २ लाख ५० हजार रुपैयाँसम्म कायम गरिएको छ । मोदीलाई यी उपहार विदेश भ्रमणक्रममा प्राप्त भएको जनाइएको छ । प्राप्त आम्दानी मुख्य गरेर गंगा सफाइ अभियानका लागि प्रदान गरिने पटेलले जानकारी गराए ।
माेदीले आफू निर्वाचन लडेर जितेको स्थान वाराणसीको गंगा सफाइका लागि विशेष अभियान नै चलाएका थिए । अभियानलाई निरन्तरता दिने प्रतिबद्धता पछिल्लाे निर्वाचनका बेला पनि गरेका थिए ।
यसअघि पनि उनले आफ्ना १८ सय उपहार बिक्री गरेका थिए । उनले आफूलाई प्राप्त सुनको कोटसमेत लिलामी गरेका थिए । गुजरातका एक व्यापारीले उनको उक्त कोट करिब १ करोड रुपैयाँमा खरिद गरेका थिए । उनी गुजरातका मुख्यमन्त्री रहँदा पनि प्राप्त उपहार लिलामी गरिएको थियो । प्राप्त आम्दानी सेवामूलक कार्यमा लगाइएको जानकारी गराइएको छ ।
















































































































































































