नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले मल्ममा १ सय केभीको नयाँ ट्रान्सफर्मरमार्फत विद्युत्–सेवा सञ्चालनमा ल्याएको छ । गलकोट–७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापाले बुधबार स्विच थिचेर ट्रान्सफर्मर उद्घाटन गरे ।
उक्त ट्रान्सफर्मरबाट आँगाखेत, बामिया र सिरबारेका झन्डै २ सय घरधुरीलाई बिजुली पुर्याउने लक्ष्य रहेको वडा सदस्य तथा घुम्टे विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापाले जानकारी दिए । यसभन्दा पहिले उक्त क्षेत्रमा गलकोट नगरपालिका–९ बाँसखोलाको ट्रान्सफर्मरमार्फत विद्युत्–सेवा उपलब्ध भएको थियो ।
ग्राहकहरूको संख्या बढेर उक्त ट्रान्सफर्मरमा लोड बढेकाले नयाँ ट्रान्सफर्मर बनाइएको नेपाल विद्युत प्राधिकरण गलकोटका प्राविधिक नगेन्द्र पुनले बताए ।
ट्रान्सफर्मरका लागि जग्गा व्यवस्थापनदेखि अन्य व्यवस्थापकीय कार्यमा स्थानीयले सहयोग गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य दलबहादुर थापा, जनप्रतिनिधि, समाजसेवी, स्थानीय बासिन्दाको उपस्थिति थियो ।
नयाँ ट्रान्सफर्मरमार्फत विद्युत्–सेवा सुचारु भएसँगै बाँसखोलाको ट्रान्सफर्मरमा लोड घटेको छ । अब ग्राहकलाई उद्योगधन्दा तथा घरमा विद्युतीय उपकरण प्रयोग गर्न सहज हुने प्राधिकरणले जनाएको छ ।













































































































































































































