१० कार्तिक २०८३, सोमबार

 

अराजकताविरुद्दको विम्ब अरिङ्गाल

प्राकृतिक रूपमा अरिङ्गाल एउटा जीव हो । यो प्रकृतिको सौन्दर्य हो जसको आफ्नो इकोसिस्टम हुन्छ । उड्न सक्छ र समूहमा बस्छ । यसको सामूहिक बसाइलाई अरिङ्गालको गोलो भन्ने गरिन्छ । सामान्य बुझाइमा अरिङ्गाललाई जब चलाउँछौं अर्थात् उसको गोलोमा ढुंगा हान्छौं, हामीलाई चिल्छ, लखेट्छ । अरिङ्गाल आइलाग्नेमाथि जाइलाग्छ ।

उसको स्वाभाविक गतिलाई जब अनावश्यक तरिकाले बाहिरबाट डिस्टर्ब गरिन्छ, आफ्नो प्राकृतिक रूप प्रदर्शन गर्छ । जसको चिलाइ यति भयाभय हुन्छ कि मानिसको ज्यानै लिएका उदाहरणसमेत छन् । त्यसैले अरिङ्गालले अन्याय गर्दैन, न्याय मास्नेलाई छोड्दैन भन्ने गहिरो अर्थ बोकेको हुन्छ ।

अरिङ्गाल शब्द हिजोआज नेपाली राजनीतिमा निकै चर्चामा छ । सत्तापक्ष, प्रतिपक्ष मात्रै होइन, पत्रकार, नागरिक समाज, युवा, विद्यार्थी, किसान, मजदुर सबै क्षेत्रमा यो शब्दको व्यापक प्रयोग भइरहेको छ ।

पछिल्लो समय यो शब्दको राजनीतिमा प्रयोग प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीबाट भएको हो । दुई तिहाइको बहुमतप्राप्त सरकारको नेतृत्व गर्दै आफ्ना कामकारबाही अगाडि बढाउने क्रममा प्रतिपक्षबाट अनावश्यक अवरोध र अराजक गतिविधि बढेकाले त्यसलाई नियन्त्रण गर्न उनले एक सार्वजनिक कार्यक्रममा कार्यकर्तालाई यस्तो आह्वान गरेका थिए ।

वर्तमान सरकार निर्माणताका आममानिसको प्रक्षेपण थियो, अब मुलुकमा स्थिरता कायम हुन्छ र विकास–निर्माणले गति लिनेछ । नेकपाका कार्यकर्तामा उत्साह र खुसीको बहाब उच्च देखिन्थ्यो । एकातिर दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता र सरकार निर्माणमा ती पार्टीभित्रका गुट, समूह र नेताहरूको जिम्मेवारी व्यवस्थापनमा देखिएको असन्तुष्टिले गर्दा सरकारले गरेका कतिपय लोकप्रिय कामको ‘पोजिटिभ एड्भोकेसी’ हुन सकेन ।

अर्कातिर प्रमुख प्रतिपक्षलगायत दल र विभिन्न अराजक समूहले योजनाबद्ध रूपमा सरकारलाई आक्रमण गरिरहे । यस कारण प्रधानमन्त्री ओलीको पहिलोपटक सरकार चलाउँदाको लोकप्रियताको बिरासत पुनरावृत्त हँुदैन कि, दुई तिहाइ बहुमतसहितको कम्युनिस्ट सरकारबाट समाजवादी राज्य–व्यवस्थाका आधार निर्माण हुँदैनन् कि भन्ने चिन्ताले शुभचिन्तकहरूलाई झस्काइरह्यो ।

स्थानीय तहसम्म पार्टीको एकीकरण प्रक्रिया र जनवर्गीय संगठनहरूको एकताको विलम्बले गर्दा पनि अनेक रूपमा अराजक समूहहरू विभिन्न बहानामा सामाजिक सद्भाव बिथोल्न सक्रिय भएका छन् ।

सात दशकअगाडिदेखिको नेपाली जनताको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य स्थापनाकोे सपना पूरा भएको हेर्न नचाहनेहरू सलबलाइरहेका छन् । गणतन्त्रलाई धारे हात लगाइरहेका छन् । तिनीहरूका लागि दलका कार्यकर्ता होइन, जनता नै अरिङ्गाल बनेर खनिन आवश्यक छ । प्रधानमन्त्री, मन्त्री र सम्मानित व्यक्तित्वमाथि भौतिक रूपमा जाइलाग्ने, हवाईजहाजजस्तो संवेदनशील ठाउँमा हुलहुज्जत गर्ने ज्ञानबहादुर शाही प्रवृत्ति सच्याउन अरिङ्गालको गोलो नै चाहिन्छ ।

सोभियत संघको विघटन, पूर्वी युरोपलगायत देशमा कम्युनिस्ट सत्ताको अवसानपछि विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा खुम्चिँदै आइरहेका बेला बलियो अर्थतन्त्र र विशाल भूगोल भएका दुई शक्तिशाली देशका बीचमा अवस्थित नेपालजस्तो सानो भूपरिवेष्टित देश, जहाँ जनताको अभिमतबाट निर्मित कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार विश्व एकाधिकारका हिमायती पुँजीपति साम्राज्यवादीका लागि टाउको दुखाइको विषय बनेको छ ।

नेपाल समाजवाद–उन्मुख मुलुक भनेर संविधान २०७२ को प्रस्तावनामा लेखिएको छ । अबको यो सरकारको आगामी कार्यभार नै समाजवादका आधारहरू निर्माण गरी मुलुकलाई साम्यवादसम्मको यात्रामा डो¥याउनु हो ।

यो निकै चुनौतीपूर्ण विषय पनि छ । जनता सुशासन चाहन्छ, विकास र संवृद्धि चाहन्छ । सैद्धान्तिकभन्दा पनि व्यावहारिक देखिने खालको जनमुखी उत्तरदायी सरकार चाहन्छ ।

त्यस कारण एकातिर जनताको दैनिकीको सारथि र अर्कातिर समाजवादको यात्रा यी दुवै चीज एकसाथ अगाडि बढाउन सक्दा मात्रै यो सरकार सफल हुन्छ । यो सबै प्राप्तिका लागि सिंगो पार्टी पंक्ति एक ढिक्का भएर अगाडि बढ्नु अत्यावश्यक छ । सरकारले आम जनमानसमा विकास र संवृद्धिको आशा र विश्वास दिलाउन सक्नुपर्छ ।

हामीले राजनीतिक अधिकार प्राप्तिको लडाइँ जितेका छौं । राजनीतिक अधिकारका हिसाबले हामी युरो–अमेरिकनहरूभन्दा धेरै कदम अगाडि छौं । लामो समयसम्म चलेको क्रान्ति र आन्दोलनले गर्दा मुलुकमा स्थिरता र स्थायित्व रहेन । यो समयमा विकास–निर्माणभन्दा पनि बनेका संरचनासमेत ध्वस्त भए ।

जब मुलुकमा संविधानसभाको निर्वाचन भएर समाजवादको परिकल्पनासहितको गणतान्त्रिक संविधान निर्माण भयो । अनि हामी संविधानको कार्यान्वयनमार्फत शान्ति र स्थायित्व कायम गर्दै समाजवादका आधार बलियो बनाउन नवनिर्माण महाभियानमा छौं । यो अभियानलाई असफल पार्न देशी–विदेशी प्रतिक्रियावादीहरू गिद्धे दृष्टि लगाइरहेका छन् ।

विशेष गरी भारत र पश्चिमाहरू बेचैन भएका छन् । विस्तारवादी र साम्राज्यवादीहरू नेपालमा अस्थिरता चाहन्छन् । यो विश्व पुँजीवादको चरित्र नै हो । उनीहरू पुँजीवादको विकल्प समाजवाद भन्ने कुरा सुन्न चाहँदैनन् । विश्वमा पुँजीको एकाधिकार चाहन्छन् । हरेक मुलुकमा आफ्नो संयन्त्र परिचालन गरिराखेका छन् जसको प्रभाव नेपालमा रहेको दलाल पुँजीवाद हो ।

यसको चरित्र अन्तर्राष्ट्रिय हुन्छ । आजको नेपाली जनता र कम्युनिस्ट सरकारको समाजवादको यात्रामा मुख्य अवरोध यही दलाल पुँजीवाद हो । केही राजतन्त्रका अवशेषहरू पन टाउको उठाउन खोज्दै छन् । यी सबै चुनौती सामना गर्न आमजनमानस एक ढिक्का भएर अगाडि बढ्नुपर्छ ।

 पन्त, अनेरास्ववियूका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung