१५ कार्तिक २०८३, शनिबार

 

एनआरएनए नवाैं विश्व सम्मेलन सुरु

- ५० देशका प्रतिनिधि राजधानीमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन मंगलबार काठमाडौंमा सुरु भएको छ । करिब ५० देशका प्रतिनिधि सहभागी सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी हुन् । उनले देश विकास र समृद्धिका लागि एनआरएनएले गरेको योगदान स्मरणीय रहेको बताइन् । विश्वभर छरिएका नेपालीले स्वस्फूर्त रूपमा गरेको सहयोग देशका लागि महत्त्वपूर्ण रहेको र पूर्वाधार विकास तथा लोककल्याणमा देशले निरन्तर सहयोगको अपेक्षा गरिरहने उनको भनाइ छ ।

रोजगारीका क्रममा विदेशमा रहेर एनआरएनले नेपालमा रहेका परिवार, आफन्त र समाजका सदस्यसँग सम्पर्कमा रही नेपाली भाषा बोल्न पाउँदाको खुसी आफैंमा सन्तोषजनक हुने राष्ट्रपति भण्डारीले बताइन् । उनले भनिन्, ‘संवैधानिक व्यवस्था कार्यान्वयन गर्न ऐन बनाउने कार्य अन्तिम चरणमा पुगेको छ । गैरआवासीय नपाली नागरिकता प्रदान गर्ने व्यवस्था संविधानमा छ । सो व्यवस्था चाँडोभन्दा चाँडो कार्यान्वयन गरिनेछ ।’ गैरआवासीय नेपालीको लगानी प्रोत्साहन गर्न राज्य प्रतिबद्ध रहेको र गैरआवासीय पनि सरकारलाई साथ दिन तत्पर हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देश उच्च आर्थिक वृद्धिको दिशामा अघि बढेकाले गैरआवासीय नेपालीहरूसँग सहयोगको आग्रह गरे । नेपालको भौतिक उपस्थितिभन्दा गैरआवासीय संघको उपस्थित बढी देशमा रहेको उल्लेख गर्दै उनले राज्यको दायित्वमा साथ दिँदै आएको स्मरण गरे ।

संघका पूर्वअध्यक्ष शेष घलेले भिजन २०२० मार्फत गरेको वाचा पूरा गर्नु संघको कर्तव्य रहेको बताए । विदेशी नागरिकताधारी गैरआवासीयहरूले आफूलाई विश्वमा नेपालीकै रूपमा चिनाउन चाहेको उनले जनाए । ‘हामीले मातृभूमिप्रतिको दायित्व सम्झेर आफ्नो आयको ठूलो हिस्सा नेपालमा खर्च गर्ने गरेका छौं,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाले १६ वर्षमा संघ निकै बलियो बनेको भन्दै राज्य गैरआवासीय नेपालीप्रति गर्व गर्नुपर्ने बताइन् । उनले सरकारको समृद्ध नेपाल सुखी नेपाली, भिजिट नेपाल २०२० लगायत अभियान सफल पार्न गैरआवासीय नेपालीले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने भन्दै अवैतनिक दूत बन्न आग्रह गरिन् ।

सम्मेलनले संघको नयाँ नेतृत्व चयन गर्नेछ । निवर्तमान अध्यक्ष भवन भट्टले नयाँ नेतृत्वका लागि आग्रह गर्दै आफू नदोहोरिने घोषणा गरिसकेका छन् । यसपटक कुल आचार्य र कुमार पन्त अध्यक्षका दाबेदार छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung