१० कार्तिक २०८३, सोमबार

 

घुम्टेको पर्यटकीय आकर्षण

- सन्दर्भ : गलकोट–घुम्टे महोत्सव (मंसिर ४–११)

 

प्रा.डा. दिनबहादुर थापा

अहिलेको गलकोट कुनै समय चौबीसी राज्यअन्तर्गतको स्वशासित भूगोल हो । त्यति बेला यसको क्षेत्रफल पूर्वमा काठेखोला, पश्चिममा रन्सिङकिटेनी, दक्षिणमा वामीटक्सार र उत्तरमा ताराखोलाको धुरीसम्म मानिन्थ्यो । यसको राजधानी वा तत्कालीन ठूलो कोटघरको भग्नावशेष सिगालाको धुरीमा अहिले पनि देख्न सकिन्छ ।

यही कोटघरमा गोलो आकारको कोतघर पनि बनाइएको हुँदा ‘गोलोकोत’ बाट अपभ्रंश भएर यसको नामकरण गलकोट भएको सहजै अनुमान गर्न सकिन्छ । भलै यो कोट वा कोतघर पछि हटियाको रजरा हुँदै टेउवाको धुरी र पछि हरिचौर बजारमा बनाइयो ।

यो राजदरबार अहिले जीर्ण अवस्थामा छ । वि.सं. १८४४ सम्म यो भूगोलले एउटा स्वतन्त्र राज्यको मान्यता पायो भने अन्यत्रका राज्य खोसिँदासमेत २०१७ सालसम्म यसलाई रजौटाको मान्यता दिइएको थियो । यही राज्य, रजौटा वा वर्तमान गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाले ओगटेको भूगोलको केन्द्रविन्दु नै घुम्टे पहाड हो । यसको उचाइ १०३९३ फिट छ ।

पूर्वमा हरिचौर, पश्चिममा पाण्डवखानी, उत्तरमा हिल र दक्षिणमा मल्मका गाउँ छन् । आज घुम्टे र गलकोट पर्यायवाची नाम भएका छन् । गलकोटको साझा पहिचान बनेको घुम्टेका नामबाट दोस्रो गलकोट–घुम्टे महोत्सवको आयोजना मंसिर ४ देखि ११ सम्म गलकोट–५ हरिचौर, बसाहफाँटमा हुँदै छ । महोत्सवको सन्दर्भलाई जोडेर यहाँ गलकोटको इतिहास, संस्कृति र प्रकृतिको छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।

नेपालभित्रको नेपाल भनेर चिनिने जिल्लाको नाम बागलुङ हो । यसको केन्द्रविन्दुमा गलकोट पर्छ । गलकोटको पनि केन्द्रविन्दु घुम्टे हो । बागलुङलाई चिनाउने आधारभूत पहिचान भनेकै झोलुंगे पुल, बुट्टे नली, दारको ठेकी, डाली–सोली, स्लेट खानी, असला माछा आदि हुन् । यी सबै प्राकृतिक सम्पदा गलकोटमा पाइन्छन् । गलकोटलाई जल, जडीबुटी, जनघनत्व, जंगल र उर्वर जमिन भएको भूखण्ड भनेर चिन्दा पनि फरक पर्दैन ।

यत्ति मात्र नभई गलकोटलाई स्वच्छ हावापानी र स्वादिलो माछा पाइने ठाउँ, गाँवैपिच्छे खानी, निगालो र बाँसका अनेक डाली, सोली, डेली, नाङ्लो अनि दारका ठेकी, चौठी, आरी, पाथी, धुपौरो, भुट्नेरो आदि वस्तु पाइने क्षेत्रका रूपमा पनि चिनिन्छ । यसका अतिरिक्त गलकोटमा धान, मकै, गहुँ, जौ, उवा, फापर, लटे, जुनेलो, काउनो, सिलम, भाँगो, भटमास आदि खाद्य बालीको उत्पादन हुन्छ ।

२०१९ सालसम्म पनि बागलुङका मुख्य प्रशासनिक एकाइहरू गलकोटमै थिए । पछि बागलुङ बजारमा सारिए । २०४६ सालको परिवर्तनसँगै गलकोट क्षेत्रलाई तीनवटा निर्वाचन क्षेत्रमा विभाजन गरियो । एकपछि अर्को वज्रपात भएपछि गलकोटले ऐतिहासिक पहिचान कायम राख्न सकेन । यहाँको युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन हुने र बसाइँसराइको क्रम सुरु भयो ।

यससँगै राजनीतिक अस्थिरताले बढवा पाएपछि गलकोट क्षेत्र शिक्षा, स्वास्थ्य, स्वरोजगार अनि यातायातमा पछि पर्दै गयो । तर मुलुकमा गणतन्त्र उदाएसँगै यहाँको भौगोलिक, सामाजिक, मनोवैज्ञानिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय महत्त्व उजागर हुँदै छ । नगरपालिकाले भावनात्मक एकताको सूत्रपात गर्दै छ भने सडक सुविधाले भौगोलिक एकतालाई सुगम बनाउँदै छ ।

गलकोट आफैंमा विविध सांस्कृतिक सम्पदाले धनी क्षेत्र हो । यहाँ विविध जाति, पेसा, धर्म र संस्कारका मानिस बसोबास गर्छन् । उनीहरूका मौलिक संस्कृति छन् । गलकोटका विशेष जातिहरूमा क्षत्री, ब्राह्मण, जनजाति र दलित वर्ग छन् । मुख्य चाडहरूमा बुद्धपूर्णिमा, उँभौली, उँधौली, असारे–साउने संक्रान्ति, कृष्णाष्टमी, जनैपूर्णिमा, तीज, दसैं, तिहार, ठूली एकादशी, कात्तिके पर्व, पुसे पन्ध्र, माघे संक्रान्ति, फागुपूर्णिमा आदि छन् । त्यसै गरी मुख्य लोकगीत र नृत्यहरूमा झाम्रे (यानीमाया, नानीलै, सालैजो, विनासाले, घुम्टे साइला, चुड्का), सोरठी, भैलो, ख्याली, भजन, रत्यौली, गोविचन, लाखेनाच, घाटुनाच, सरायोनाच, गाइने गीत, जोगीनृत्य, खुकुरीनाच, भुस पोल्ने, सिङ फेर्ने, सिस्नु खोस्ने, छाप खन्ने, धामीओख्खा आदि हुन् ।

बाजाहरूमा नौमती, माचुङ्गा, मुरली, मादल, डम्फु, खँैजडी, मुजुरा, घाँघर आदि बजाइन्छन् । रिघा र पाण्डवखानी घाटु, ठाडो सोरठी र झाम्रेले प्रसिद्धि कमाएका ठाउँ हुन् भने मल्ममा नौमती, लस्के सोरठी र लोकभजन विशेष मानिन्छन् । त्यसै गरी हटिया, हरिचौर, नरेठाँटी लाखे, जोगीनाच, सरायोनाच, गाइने गीत, खुकुरीनाच आदिमा प्रसिद्धि कमाएका ठाउँ हुन् । हिल, तारा र अर्गल, गोविचनलगायत भुस पोल्ने, सिङ फेर्ने, सिस्नु खोस्ने, छाप खन्ने आदि गीत, नृत्य र लोकनाटकको पहिचान बोकेका ठाउँ हुन् । यी लोकसंस्कृति आआफ्नो संस्कारअनुरूप मनाइन्छन् । यी संस्कृतिमा जातीय विशिष्टताका साथै क्षेत्रीय पहिचान र सामूहिकताको भावना बढी झल्किन्छ । समग्रमा गलकोट क्षेत्र आफंैमा लोकसंस्कृतिको भण्डार हो भन्दा पनि अतिशयोक्ति नहोला ।

गलकोटमा मानिसहरूको बसोबास हुन थालेदेखि नै घुम्टेमा बालसिद्ध र कालभैरव स्थापना गरी पूजा गर्न थालिएको हुनुपर्छ । घुम्टेमा प्राकृतिक रूपमा दुई चुचुरा छन्– एउटा, उत्तरतर्फ फर्किएको मामा सिद्धको मन्दिर र अर्को, दक्षिणतर्फ फर्किएको भान्जा कालभैरवको मूर्ति भनी पूजा गरिँदै आएको छ । यिनको पूजा गर्नाले मनःकांक्षा पूरा हुनुका साथै बाली सप्रने, समयमै वर्षा हुने र अन्य दैवी प्रकोप न्यूनीकरण हुने जनविश्वास छ । यसैका लागि सिद्ध–भैरवको भाकल गर्दै थानमा घण्टा, त्रिशूल, ध्वजा चढाउने र पूजापाठ लगाउने चलन छ । गलकोटका प्रायः गाउँमा वर्षको दुईपटक सिद्ध, बाली र पानीकोे सामूहिक पूजा गरिन्छ । मामा बालसिद्ध ब्राह्मण हुनाले धूप, ध्वजा, खिर र रोट चढाइन्छ भने भान्जा कालभैरव क्षत्रिय हुनाले उनलाई पाठाहरू बलि चढाएर वा परेवा उडाएर पूजा गर्ने चलन छ ।

प्रत्येक वर्ष बैसाखे चण्डीपूर्णिमा वा बुद्धजयन्तीको अघिल्लो (चतुर्दशीका) दिन पनि ठूलो घुइँचो लाग्छ । तर परिवर्तित सन्दर्भमा यो परम्परामा ह्रास आइरहेको छ । सिद्धभैरवका भक्तजन मात्र नभई, बैँसालु युवायुवती जीवनभर पारिवारिक बन्धनमा बाँधिने वाचा गर्न पनि चण्डीपूर्णिमाको अघिल्लो दिन घुम्टे जाने चलन पुरानो हो । पशुपतिको जात्रा सिद्राको व्यापार भनेझैं टुनामुना र झारफुक गर्ने लामा–वैद्यहरू निगाला काट्ने, रूपासाग, खिरमला साग, कुरिलो, ढका आदि वन तरकारी खोज्ने, झाडु लगाउने कुचेटो, वर्षदिनलाई पुग्ने घरायसी औषधि खोज्ने आदि उद्देश्यले पनि त्यस दिन घुम्टे पुगेका हुन्छन् । सर्वसाधारण सोही दिन दर्शन गरी बेलुकी नै घर फर्किन्छन् भने कोही घुम्टेबाट सिधै तल पर्ने पाण्डवखानीको सिद्धथाने मेलातिर झर्छन् ।

यहाँ बाजा–गाजा र झाम्रेको खालमा रात गुजारेपछि भोलिपल्ट पूर्णिमाका दिन पाण्डवखानीको काभ्रे मेला (घाटुनृत्य) मा सहभागी भएर तीन दिनपछि घर फर्किने चलन छ ।घुम्टे पहाडका अन्य पर्यवलोकनका दृश्य भनेका सानो घुम्टे, सिद्धेश्वर गुफा, राम्चे ओढार, गोठथरी, बुलाहा बाबाको आश्रम (जहाँ करिब ८० वर्षपहिले ठूलो सप्ताहा लगाइएको थियो र यसका भग्नावशेष अद्यापि अवलोकन गर्न सकिन्छ), भीमसेन लौरी, दमाहा ढुङ्गा, दहपानी, टोड्के पानी, नाङ्गे भीर, पैराको सोतो, शालिग्राम पत्थर, हात्तीसुँढे चट्टान, हिउँका गल्छी, घोरल–मृगका बथान, लालीगुराँसलगायत अनेक प्रजातिका फूल हुन् ।

घुम्टेबाट देखिने गलकोटकै मुख्य दृश्यहरूमा गलकोटे राजदरबार, हरिचौर बजार, गाईघाट झरना, गाजाको दह, गौदी र दरम खोलाका झन्डै एक दर्जन झोलुङ्गे पुल, हटिया बजार, मजुवाको फाँट, ठूलोकोट, टक्सार बजार, भुजुङ्गे स्लेटखानी र अन्य चुचुरा, छाँगा, छहरा, गुफा र ढुङ्गे घरहरू हुन् । घुम्टेकै चुचुरोभन्दा केही तल रहेको शालिग्राममा टाँसिएर रहेका स–साना शिलापत्थर पनि आकर्षक छन् । यी शिला शक्तिशाली लामाहरूले मात्र सिद्धि प्राप्त गरेपछि छुटाएर लैजान सक्छन् भन्ने जनविश्वास छ ।

घुम्टेलाई प्रकृतिले सबै थोक दिएकोे छ भने घुम्टेले गलकोटलाई पालेको छ । कुनै समय यही घुम्टेमा सयौं गोठ र भेडीगोठ राखेर कृषकहरूले आफ्नो जीविकोपार्जनका साथै गलकोटलाई नै दूध, घिउ र मासु पुर्‍याउँथे । दक्षिणबाट उत्तर बहने जलवायुलाई रोकेर समयानुकूल जलवर्षा गराउनाले त्यहाँका कृषकलाई आत्मनिर्भर बनाउन अनि खोलाहरू निरन्तर बगिरहनुमा यसैको योगदान छ । दाउरा, घाँसपात, पर्सिम्लादेखि लिएर अन्य दैनिक उपभोग्य वस्तुलगायत पटुवा, बाँस, घरेलु सामग्री (हाते कागज, नाम्ला–दाम्ला, मान्द्रा–सोली, काम्ला–घुम र ठेका–ठेकी) का लागि आवश्यक कच्चा पदार्थसमेत यसैले उपलब्ध गराएको छ ।

घुम्टेले गलकोटवासीलाई मात्र नभई त्यहाँ पुग्ने जोसुकै पर्यटकलाई मनग्य उपहार दिएर पठाउँछ । घुम्टेको चुचुरोबाट उत्तरतर्फका धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमालहरूको वक्षस्थलमै लडीबुडी गर्न सकिन्छ । दूरबिनको सहायताले वरपरका धेरै छिमेकी जिल्लाका प्राकृतिक सौन्दर्यसमेत अवलोकन गर्न सकिन्छ । गलकोट नगरपालिका र ताराखोला अनि बडीगाड गाउँपालिकाका सबै वडा र बस्तीहरूलाई यहाँबाट राम्रैसँग चिहाउन सकिन्छ । गलकोटको धार्मिक, सामाजिक र आर्थिक महत्त्वसँग पनि घुम्टे जोडिएकाले यसलाई आन्तरिक पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने प्रशस्त आधार छन् ।

घुम्टेलाई पर्यटकीय केन्द्र बनाउन यहाँका सयौं प्रकारका जीव–जन्तु, चराचुरुङ्गी तथा जडीबुटी पनि सहयोगी हुन सक्छन् । यी वन्यजन्तुका लागि आरक्षण केन्द्र, जडीबुटी संकलन, प्रशोधन तथा संरक्षण केन्द्र स्थापना र प्राचीन समयमा खनिएका तामा, फलाम, सुन, सिसालगायत धातु र स्लेट खानीहरूको खोज, अनुसन्धान तथा सञ्चालन गर्न सकेको खण्डमा गलकोटको महत्त्व अझै बढेर जाने निश्चित छ । घुम्टेमा डाँफे, मुनाल, काँडेभ्याकुरलगायत सयौं चराचुरुङ्गी र कस्तुरी मृग, घोरल, थार, चितुवा, चरी बाघ, भालुलगायत वन्यजन्तु पाइन्छन् । जिल्लामा प्रसिद्ध हुक्के नली (गजिङ निगालो), नाङ्ला, डोका, डेली, सोली, मान्द्रा, भकारी आदि बुन्न प्रयोग हुने तिते, मालिङ, गजिङ, ढोडे आदि निगालाका प्रजाति, लाली, चमेलीलगायत विभिन्न प्रकारका गुराँस, चाँप, कोइरल आदि सयौं प्रकारका पूल, चिराइतो, पाँचऔंले, भुत्केस, जटामसी, हनुमानवीर, गुजरगानो, पखनबेत, शिलाजित, पदमचाल्नो, सतुवा, रौतेमुला, एक्लेवीर आदि औषधिजन्य जडीबुटी र चुत्रो, एेंसेलु, काफल, डेम्मर, जामुन, मुसेलेडी, गुएँली, अएँरी, घएँरी, गोलकाँक्री आदि जङ्गली फलफूलसमेत पाइन्छन् ।

यी सबै औषधि, फलफूल, खनिज पदार्थ, दार (ठेका कुँद्ने), सिर्मु, रैच, पाङ्ग्रो आदि काठ एवम् अन्य उपयोगी वस्तुको सदुपयोग र संरक्षण समयमै गर्न सकेको खण्डमा व्यक्ति, समाज र राष्ट्रको उन्नतिमा ठूलो सहयोग पुग्नेछ । यी विविध प्राकृतिक सम्पदाको संरक्षण, संवर्धन र सदुपयोग गर्ने परम्परालाई अब वैज्ञानिक प्रविधिमा बदलेर घुम्टेलाई नयाँ अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने प्रचूर सम्भावना छ ।

घुम्टेको प्रचारप्रसारमा २०५७ सालदेखि गलकोटे संघसंस्था, समाजसेवी र घुम्टे प्रेमी कलमजीवीसमेत लागिरहेका छन् । २०६९ फागुन २४ गते ‘गलकोट–घुम्टे पर्यटन विकास केन्द्र, बागलुङ’को सक्रियतामा हरिचौर, टेउवा मोहडाबाट पर्यटन मन्त्रालयका तर्फबाट ‘घुम्टे पदमार्ग’को शिलान्यास पनि भइसकेको छ । घुम्टे महोत्सव (२०६३), काठमाडौंदेखि घुम्टेसम्मको साइकल यात्रा, लालीगुराँस महोत्सवलगायत थुप्रै कार्यक्रम पनि घुम्टेकै नाममा भइसकेका छन् । स्थानीय समाजसेवी, जनप्रतिनिधि र बुद्धिजीवीहरूको पहलकदमीमा लाखौंको बजेटसमेत घुम्टे पर्यटनका नाममा खर्च भइसकेको छ ।

यसले घुम्टेको प्रचारप्रसारमा योगदान त पुर्‍याएको छ तर विकासका नाममा प्राकृतिक विनाश अनि वन्यजन्तु र जडीबुटीका तस्करहरू पल्किने वातावरण बन्न सक्ने आशंका पनि बढाएको छ । यसका लागि विश्वाससँगै खबरदारी पनि गरौं । विकासका नाममा विकृति र विनाश ननिम्तियोस् भनी समयमै सचेत हुन जरुरी छ ।अन्त्यमा, गलकोट घुम्टे पर्यटन विकास केन्द्रले आयोजना गरेको ‘गलकोट घुम्टे महोत्सव’ २०७६ ले पूर्ण सफलता पाओस् । यसले गलकोटको ऐतिहासिक, सामाजिक, प्राकृतिक, धार्मिक, सांस्कृतिक र भौगोलिक पक्षको अध्ययन, अवलोकन र प्रचारप्रसारमा टेवा पुयाओस् ।

गलकोटेहरूको भावनात्मक एकतामा अझै कसिलो गाँठो पारोस् । गलकोटमा उत्पादित वस्तुले अधिकतम मूल्य पाओस् अनि स्थानीय उत्पादनले प्रोत्साहन । स्थानीय समाजसेवी, गुरुवर्ग र कलाकर्मीको उचित सम्मान होस् अनि शैक्षिक जागरणमा टेवा पुर्‍याओस् । महोत्सवका नाममा बहुराष्ट्रिय कम्पनीका म्याद गुज्रिएका वस्तुको खपत केन्द्र नबनोस् । शैक्षिक मार्गमा लागेका किशोरकिशोरीलाई तड्पाउने, भड्काउने र विदेश पलायन गराउन उक्साउने काम पनि नहोस् । अनि मौलिक कला, संस्कृति र प्राकृतिक वस्तुलाई विस्थापित गर्ने माध्यम नबनोस् यो महोत्सव ! सांस्कृतिक संरक्षण, शैक्षिक जागरण, पर्यटकीय प्रवर्धन र अर्थोपार्जन अनि आर्थिक पारदर्शिताको पर्याय बनोस् गलकोट घुम्टे महोत्सव ।
शुभकामना !

 

तस्बिर सौजन्य :  राम थापा ‘अविरल’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung