३ श्रावण २०८३, आईतवार

 

बूढीगण्डकी आयोजनाले बाँड्यो मुआब्जा

बूढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने बासिन्दालाई २७ अर्ब ८० करोड मुआब्जा वितरण गरिसकेको छ । राष्ट्रिय गौरवको आयोजनाले डुबान क्षेत्र (गोरखा र धादिङ जिल्ला)का साबिकका २७ गाविसमध्ये अधिकांशमा मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको आयोजनाका पुनर्वास तथा पुनस्र्थापना एकाइ कार्यालयका प्रमुख कृष्ण कार्कीले जानकारी दिए ।
डुबान क्षेत्रमा पर्ने कूल जग्गामध्ये दुई जिल्लाका करीब ४४ हजार रोपनी जमीनको मुआब्जा वितरण भइसकेको छ ।

‘सर्भेक्षणअनुसार आयोजनाले गोरखातर्फ कूल ३० हजार ७८ रोपनी र धादिङतर्फ २८ हजार ७५ रोपनी जग्गाको मुआब्जा वितरण गर्नुपर्ने हुन्छ’ उनले भने ।

‘मुआब्जा वितरणको काम शुरु भएदेखि अहिलेसम्म अधिग्रहण गरिएका दुवै जिल्लामा गरी करीब ४४ हजार रोपनी जग्गाको मुआब्जा वितरण गरिएको छ ।’ मुआब्जा निर्धारण हुन बाँकी रहेकाबाहेक अन्य क्षेत्रको मुआब्जा वितरणको काम लगभग अन्तिम चरणमा पुगिसकेको आयोजना प्रमुख कार्कीले जानकारी दिए । ‘कतिपय जग्गाधनीको जग्गा रोक्का भएका कारण उहाँहरुको खातामा रकम जम्मा गर्न ढिलाइ हुँदै आएको छ’, उनले भने ।

‘कतिपय जग्गाधनीको लालपुर्जा नभएको तर फिल्डबुकमा जग्गा भएकाले कसरी समस्या समाधान गर्ने भन्नेमा छलफल भइरहेको छ ।’

अधिग्रहण गरिएकामध्ये गोरखातर्फ आरुघाट र आरखेत बजार क्षेत्र तथा धादिङतर्फ आरुघाट र खहरे बजार क्षेत्रको मुआब्जा निर्धारण गर्न अझै बाँकी छ । आयोजनाले आर्थिक वर्ष २०७३÷७४ देखि डुबान क्षेत्रमा पर्ने जमीन अधिग्रहण गरी मुआब्जा निर्धारणको काम शुरु गरेको थियो । आयोजनाबाट दुई जिल्लाका गरी २० हजार १४६ पूर्ण विस्थापित हुनेछन् भने २५ हजारलाई असर पुग्न सक्ने आयोजना प्रमुख कार्कीले बताए । यस्तै डुबान प्रभावित क्षेत्रमध्ये मुआब्जा निर्धारण भएका सबै क्षेत्रका घरगोठ, फलफूल र बोटबिरुवाको तथ्याङ्क सङ्कलनको काम सम्पन्न गरिसकिएको र त्यसको मुआब्जा वितरणका लागि ऊर्जा मन्त्रालयमा प्रस्ताव गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung