१४ कार्तिक २०८३, शुक्रबार

 

होटल ‘दरबार’ प्रकरण : वास्तविकता के ?

बागी उम्मेदवारको विषय सेलाउन नपाउँदै बागलुङको ढोरपाटन नगरपालिकामा फेरि अर्को घटना सार्वजनिक भएको छ ।

सोमबार पार्टीको कार्यक्रमका लागि ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको होटल ‘दरबार’मा गएका नेकपाका जिल्ला सदस्य एवम् स्थानीय नेता चन्द्र अर्यालमाथि हातपातको प्रयास भएको बताइएकाे छ ।

उपनिर्वाचनका विषयमा आयोजना भएको वाम गठबन्धनको बैठकमा भाग लिन पुगेका अर्यालमाथि मेयरकी पत्नी छेला नेपालीद्वारा हातपात  प्रयास भएको  जनाइएकाे छ ।

अर्यालले नयाँ विश्वसँग भने, ‘पार्टीकै साथीहरूले बैठक छ भनेर बोलाए, उपनिर्वाचनका बेला मलाई पनि पार्टीले जिम्मेवारी देला भनेर बैठकमा गएँ तर पुग्न नपाउँदै मेयरकी पत्नीद्वारा ममाथि हातपात भयो ।’

अर्यालले थपे, ‘हातपातपछि पनि म  बैठकमा जाने हो भनेर छेला नेपालीलाई आग्रह गरेँ, मेरो आग्रहलाई लत्याउँदै  मलाई गेटबाट बाहिर निकालियो ।’

यस्तै, घटनाकी प्रत्यक्षदर्शी सीता कँडेलले उनीहरूबीच झगडा भए पनि हात हालाहालकाे अवस्था नरहेकाे बताइन् ।

‘म दिउँसो नभएको भए हा तहाल्ने अवस्था आउने थियो तर म हुँदा त्यस्तो अवस्था सृजना भएन,’ उनले भनिन् ।

यता, ढोरपाटन नगरपालिकाका मेयर नेपालीले पत्नी छेलाले  हातपात नगरेको बताएका छन् । दलित भन्दै हिँड्ने र व्यक्तिको चरित्रमाथि दाग लगाउन खोजेपछि  गाली भने गरेकाे उनले स्विकारे । बैठकमा उपस्थित गण्डकी प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपालीले भने घटनाबारे आफू जानकार नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung