१४ कार्तिक २०८३, शुक्रबार

 

गलकोट घुम्टे महोत्सवमा जडीबुटी प्रदर्शनी

जिल्लाको घुम्टेमा पाइने सयौं जडीबुटी अहिले दोस्रो गलकोट घुम्टे महोत्सवको आकर्षण बनेका छन् । महोत्सवमा छुट्टै स्टल नै राखेर जडीबुटी प्रदर्शन गरिएको छ ।

झन्डै १ सय ६९ प्रकारका जडीबुटी प्रदर्शनीमा राखिएको घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतले बताए । यहाँ पाँचऔंले, निरमसी, जट्टामसी, रातो ओखली, सतुवा, भुतकेस, कालीकुट, लौठ सल्लोलगायत जडीबुटी पाइन्छन् ।

यी जडीबुटी विभिन्न रोगमा औषधिका रूपमा प्रयोग गर्न सकिने स्टल सञ्चालक तुलसीराम लामिछानेले बताए । उनी २० वर्षदेखि वैद्यका रूपमा काम गर्दै आएका छन् । अर्का स्टल सञ्चालक वीरबहादुर थापाका अनुसार यी जडीबुटीबाट ग्यास्ट्रिक, गानोगोला, अल्सरलगायत रोग निको पार्न सकिन्छ । जडीबुटी स्टललाई दर्शकले चासोपूर्वक अवलोकन गर्ने गरेको उनले जानकारी दिए । महोत्सव मंसिर ४ देखि सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung