६ जेष्ठ २०८१, आईतवार

 

काठमाडौंको पहिलो जित, ज्ञानेन्द्र मल्लको शतक

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा काठमाडौं गोल्डेन वारिवर्सले पहिलो जित हात पारेको छ ।

मंगलबार धनगढी ब्लुजलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गर्दै काठमाडौंले पहिलो जित हात पारेको हो । पोखरा रंगशालामा काठमाडौंले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको धनगढीले १६ ओभरमा अलआउट हुँदै ७९ रन मात्र बनाउन सक्यो ।

काठमाडौंको कसिलो बलिङसामु धनगढीका कुनै पनि ब्याट्सम्यानले लामो साझेदारी गर्न सकेनन् । धनगढीका लागि सृमान्था विजारत्नेले सर्वाधिक १५ रन बनाए । यस्तै रोड्रिगो थोमसले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

काठमाडौंका बसन्त रेग्मीले ३ विकेट लिए । यस्तै पवन सर्राफ र सुबोध भाटीले समान २/२ विकेट लिए । यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।

खराब मौषमले गर्दा ढिला सुरु भएको खेल १७ ओभरमा घटाइएको थियो । तर, कप्तान ज्ञानेन्द्र मल्लले १०० रनको शतकीय इनिङ्स खेल्दा  काठमाडौंले उच्च योगफल तयार गरेको थियो । काठमाडौंले बनाएको यो स्कोर प्रतियोगिताकै सर्वाधिक रन हो ।

कप्तान मल्लले ३८ बलमा ८ चौका र ९ छक्का प्रहर गर्दै सय रन बनाए । उनी दोस्रो संस्करणको शतक बनाउने पहिलो खेलाडी समेत बने  । यस्तै जयकिशन कोल्सावालाले ४६ रनको इनिङ्स खेले । ३७ बल खेलका उनले ४ चौका र २ छक्काको मद्दतमा अर्धशतकबाट ४ रनले चुके ।

कप्तान मल्ल र कोल्सावालाले तेस्रो विकेटको लागि शतकीय (१ सय ३१) रनको साझेदारी गरेका थिए । धनगढीका कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए । जितसंगै काठमाडौंले अघिल्लो चरणको सम्भावना कायम राखेको छ । यसअघि काठमाडौं पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा बुटवल ब्लास्टर्ससंग पराजित भएको थियो ।

यस्तै पहिलो खेलमा विराटनगरलाई ५ रनले पराजित गरेको धनगढीको यो पहिलो हार हो ।

प्रतिक्रिया दिनुहोस्